टिकटक बन्द गर्ने निर्णय गलत, बन्द होइन नियमन गर्नुपर्छ : रवि लामिछाने

सोमबार, कात्तिक २७, २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जाललाई बन्द गर्ने नभई नियमन गर्नुपर्ने बताएका छन् ।  सोमबार सरकारले टिकटक बन्द गर्ने निर्णय गरेसँगै सामाजिक सञ्जालमा लेख्दै उनले बन्द होइन नियमन गर्नुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन । समस्या कन्टेन्टको हो, प्लेटफर्मको होइन । अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? टिकटकका कयौं युजर र कन्टेन्ट खराब छन् तर सबै युजर र कन्टेन्ट खराब छैनन् । प्राविधिक रुपमा खराबलाई कन्ट्रोल गर्न सकिन्छ । टिकटकमा हालेको भिडियो रिलमा हाल्न मिल्छ, इन्स्टामा हाल्न मिल्छ, फेसबुकमा हाल्न मिल्छ । के सबै प्लेटफर्म बन्द गर्दै जाने हो त ?’

उनले यस्तो निर्णय गर्ने सत्ताधारी दलकै कयौं नेताहरु भ्रष्ट भएको आरोप लगाउँदै थप लेखेका छन्, ‘यो निर्णय गर्ने सत्ताधारी दलकै कयौं नेताहरु भ्रष्ट होलान् । के अब पार्टी नै बन्द गरिदिने हो त ? मूलधारले ढोका बन्द गरेका कयौंं प्रतिभाहरु सामाजिक सञ्जालबाट उदाए, मूलधारले लुकाएका कयौं समाचार सामाजिक सञ्जालले उजागर गरे, सामाजिक सञ्जालले फैलाएका कयौं अफवाहलाई मूलधारले फेक प्रमाणीकरण गरे । आजको युगमा सोसल मिडियाको  बिकल्प सुधारिएको, अनुशासकित सोसल मिडिया हो ।’

उनले सत्ताधारी दलकै जिम्मेवार पदाधिकारीहरुको विरोधको अर्थ नबुझेको भन्दै के यो निर्णय माओवादी केन्द्रको मात्रै हो ? भन्दै प्रश्न गरे ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  २०:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार