प्रधानमन्त्रीले दिए तिहार शुभकामना

तिहार नेपालीलाई एकताको सूत्रमा बाँध्ने महत्वपूर्ण आधार : प्रधानमन्त्री 

सोमबार, कात्तिक २७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तिहारको शुभकामना दिँदै नेपाली पर्वहरूले विश्व समुदायमा नेपालको विशिष्ट पहिचान झल्काउन महत्वपूर्ण योगदान गरिरहेको बताएका छन् । आज दिपावलीको शुभकामना सन्देश जारी गर्दै, नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता एवं अथाह प्राकृतिक सम्पदा र सभ्यताहरूको संगमस्थलका रूपमा रहिआएको चर्चा गर्दै प्रधानमन्त्री दाहालले ‘विविधतायुक्त हाम्रा संस्कार, संस्कृति र पर्वहरू राष्ट्रका साझा सम्पत्ति मात्र नभएर देश र जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकताको सूत्रमा बाँध्ने महत्वपूर्ण आधारहरूसमेत हुन्’ भनेका छन् ।
नेपालका विविध जाति, जनजाति र समुदायले मनाउने राष्ट्रिय पर्वहरू प्राकृतिक सम्पदा र ऐतिहासिकतामा आधारित रहँदै आएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भनेका छन्, ‘यस्ता पर्वहरूभित्र श्रमप्रति सम्मान, सामाजिक भावना र मित्रता, सामाजिक सहअस्तित्व एवं मानवीय जीवनमा आइपर्ने चुनौतीहरूमाथि सहकार्य र एकताका आधारमा विजय हासिल गर्ने विचार र व्यवहार अन्तर्निहित छन् ।’
दिपावली पर्वले पारिवारिक पुनर्मिलन, सामाजिक सद्भाव र एकता एवं राष्ट्रिय स्वाधीनता बलियो तुल्याउँछ, उत्पादन,श्रम,सूचना र सामाजिक रक्षकको भूमिका निर्वाह गर्ने पशुपंक्षीहरूको योगदान र मानिससँगको अन्तरक्रिया प्रगाढ बनाउँछ। देउसी भैलो लगायतका सांस्कृतिक क्रियाकलापले उल्लासमय वातावरणका साथै संस्कृति प्रवर्धनमा महत्वपूर्ण योगदान पुग्ने प्रधानमन्त्रीले चर्चा गरेका छन् ।
राजनीतिक उपलव्धिको पनि चर्चा गर्दै प्रधानमन्त्रीले नेपाली जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्दै देशको स्वाधीनता र स्वाभिमान उच्च राख्न हामीलाई निकै ठूलो आधार प्रदान गरेको सम्झेका छन् । 
‘परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न तिहार लगायतका पर्वहरूको महत्वपूर्ण भूमिका रहने मेरो गहिरो विश्वास छ।’ प्रधानमन्त्रीको भनाई छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ०९:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार