भूकम्प पीडितका लागि छिटो अस्थायी आवास निर्माण गर्न राज्य व्यवस्था समितिको सुझाव

आइतबार, कात्तिक २६, २०८०

काठमाडौं ।  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पपछि सरकारलाई राहत र पुनर्निर्माणमा ध्यान केन्द्रित गर्न सुझाव दिएको छ ।  सरकारले उद्धार र उपचारमा लिएको अग्रसरताप्रति समितिले सरकारलाई धन्यवाद पनि दिएको छ ।
समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शनिवार दिउँसो भेटेर उद्धार र उपचारमा प्रधानमन्त्रीले खेलेको भूमिकाप्रति विशेष धन्यवाद दिँदै राहत र पुनर्निर्माण प्रभावकारी बनाउन विभिन्न सुझाव दिएको हो । 
‘हामी प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवलोकन र अन्तरक्रिया गर्यौं। उद्धार र उपचारमा प्रधानमन्त्री स्वयं फिल्डमा पुगेर जसरी नेतृत्व गर्नुभयो, त्यसको सबैले प्रशंसा गरेका छन्’ समितिका सभापति रामहरि खतिवडाले भने, ‘१३ घण्टाभित्र उद्धारको काम सकिनुमा प्रधानमन्त्रीको सक्रियताले नै काम गरेको हामीले पायौं। यसका लागि समितिको तर्फबाट सरकारलाई विशेष धन्यवाद छ। अब सरकारले राहत र पुनर्निर्माणमा ध्यान केन्द्रित गर्नुपर्छ भन्ने हाम्रो सुझाव छ।’

त्यसैगरि एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सरकारको भूमिका र प्रधानमन्त्रीको सक्रियताप्रति आभार प्रकट गरे । ‘प्रभावित क्षेत्रमा प्रचारका भोकाहरू पनि देखिए। तर, प्रधानमन्त्रीले एकाबिहानै प्रभावित क्षेत्र पुगेर जसरी उद्धारको काम गर्नुभयो, यो निकै प्रेरणादायी छल उनले भने, ‘देशमा सरकार छ भन्ने कुराको गहिरो गरी अनुभूति गराउनुभयो। म यसको उच्च प्रशंसा गर्दछु ।’

भेटमा समितिका सदस्यहरूले अस्थायी आवासको काम हिउँदअघि नै सक्न, मृतक परिवारलाई आर्थिक राहत उपलब्ध गराउन, प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य सेवाको व्यवस्था गर्न विभिन्न सुझावहरू प्रस्तुत गरेका छन् । 

समितिको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले सांसदहरूबाट प्राप्त सुझावहरू राम्रोसँग अध्ययन गरेर कार्यान्वयन गरिने बताए ।

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  ०६:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार