आजदेखि यमपञ्चक सुरु, पहिलो दिन काग तिहार मनाइँदै

शनिबार, कात्तिक २५, २०८०

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार आजबाट यमपञ्चक प्ररम्भ भएसँगै सुरु भएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात् तिहार आजदेखि प्रारम्भ भएको छ । आज तिथि अनुसार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान गर्नुपर्छ ।  यमदीप दान गरे परलोकमा यमको यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । त्यसैले  कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म परिवारको सदस्य संख्याको आधारमा यमदीपदान गर्ने गरिन्छ ।

यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको छ ।

कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । आज घरघरमा परिवर्तनको संवाहक कागलाई पुज्ने गरिन्छ ।

धनत्रयोदशी (धनतेरस) पनि शनिबार नै मनाउनुपर्ने समितिले जनाएको छ । यसैगरी आज धनवन्तरी जयन्ती पनि मनाइन्छ । यो दिन घरमा गक्ष अनुसारको केही न केही सुन,चाँदी लगायतका समग्री किन्ने प्रचलन रहिआएको छ ।

तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । कात्तिक २६ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाई बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिले जनाएको हो ।

यो वर्षको भाईटीका कार्तिक २९ गते परेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  ०८:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार