आर्थिक वृद्धि सोचेजस्तो हुन सकेन : अर्थमन्त्री डा. महत

'सुधारका ठोस आधार सिर्जना भएको छ'
शनिबार, कात्तिक २५, २०८०

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले गत वर्षको यही समयको तुलनामा हाल ९ दशमलब ३ प्रतिशतले राजश्व बढेको बताएका छन् । 
प्रतिनिधिसभा अन्तरर्गतको  अर्थ समितिको बैठकमा बोल्दै मन्त्री डा. महतले आर्थिक वृद्धि सोचेजस्तो हुन नसकेको बताउँदै भने,‘त्यसबेलाको मूल्यांकनको आधारमा आर्थिक वृद्धि आधारभूत मूल्यमा २ दशमलब १६ प्रतिशत र उपभोक्ता मूल्यमा १ दशमलब ८६ प्रतिशत रहेको अनुमान गरिएको थियो । २०८०–०८१ मा हामी प्रवेश गरेका छौं, यसको पहिलो त्रैमासिकमा आर्थिक सुधारका केही ठोस आधार सिर्जना भएका छन् ।’
मन्त्री डा. महतले राजश्वको संरचना परिवर्तन आएको बताएका छन् । उनले भने, ‘पहिला डिजेल र पेट्रोलमा आधारित गाडीहरु आउँथ्यो, यी गाडीहरुबाट ३ सय प्रतिशतसम्म कर जोडेर सरकारले उठाउथ्यो । अहिले विद्युतीय गाडीलाई प्रोत्साहन गरिएको छ । अहिले अधिकांश अर्डर विद्युतीय गाडी छन् । त्यसको राजश्व १०, १५ र २५ प्रतिशत छ । धेरैजसो १० प्रतिशतमा सीमितता छ ।’
गाडी आयातमा सरकारले धेरै कर लगाएको उल्लेख गर्नुहुँदै उनले त्यसबाट आउने राजश्वको संरचना बद्लिएको र नयाँ प्रविधिमा आउनका लागि हामीले भन्सार दर घटाएका तथा यो परिवेशमा हामीले ठूलो परिणाममा राजश्व गुमाएका उल्लेख गर्नुभयो ।
अर्कोतिर हाम्रो उत्पादन र व्यवसायको संरचना र माध्यममा पनि परिवर्तन आएको मन्त्री डा. महतले उल्लेख गर्नुभयो । उनले , ‘डिजिटल प्रविधिले गर्दा धेरै कुराको किनबेच अनलाइनमार्फत् हुन्छ । समग्र डिजिटल प्रविधिलाई करको दायरामा ल्याउन सकिएको छैन । परम्परागत रुपमा फर्किन अब सम्भव छैन । कर उठाउने प्रविधिमा पनि हामीले परिवर्तन ल्याउनुपर्छ । सामाजिक सञ्जाललाई यहाँ दर्ता गराएर उनीहरुले व्यहोर्नुपर्ने दायित्व तिर्न लगाएर गर्नुपर्ने काम बाँकी नै छ । र, यो गर्नेक्रममा छ ।’ 
अर्थतन्त्र जुन अवस्थामा चलायमान छ, त्यो अनुसार प्राप्त गर्नुपर्ने राजश्व क्याप्चर गर्नका लागि कठिनाइ भइरहेको मन्त्री डा. महतले बताए । ‘यो काममा प्रयास भइरहेको छ । यसका बाबजुद पनि ९ दशमलब ३ प्रतिशतले राजश्व बढ्नु पनि अहिलेको परिस्थितिलाई सकरात्मक मान्नुपर्छ । तर, यत्तिकैमा चित्त बुझाएर बस्ने स्थिति छैन । आउँदा दिनमा यो प्रतिशत अझ बढ्छ । कतिपय करका प्रस्ताव सिस्टममा इन्ट्री भएको छैन’ मन्त्री डा. महतले भने । 

विनियोजित बजेको श्रोत जुटाउनु अर्थमन्त्रालयका अर्को महत्वपूर्ण काम भएको स्पष्ट पार्नुहुँदै मन्त्री डा.महतले भने, ‘श्रोत जुटाउँदा सबैभन्दा ठूलो आधार राजश्व हो । आन्तरिक, भन्सार र त्यसभन्दा बाहेकको राजश्वबाटै श्रोतको व्यवस्था गरिन्छ । राजश्वले नपुगेको श्रोत हामी वैदेशिक र आन्तरिक ऋणबाट जुटाइन्छ ।’ 

मन्त्री डा. महतले भने,‘वैदेशिक, आन्तरिक र राजश्व जोडेर हामीले एकातिर पूँजीगत खर्च गर्नुपर्छ, अर्कोतिर सामाजिक सुरक्षा, तलबभत्ता, वैदेशिक ऋणको सावाँ ब्याजको दायित्व बढ्दो छ । हाम्रो पूँजीगत खर्चभन्दा वैदेशिक ऋणको सावाँ ब्याजको दायित्व बढी हुने गरेको छ । वैदेशिक ऋणको साँवा ब्याजको व्यवस्थापन गर्न सकिने अवस्थामै हामी छौं । व्यवस्थापन गर्न सक्ने अवस्थामै छौं भनेर हामीले अनुत्पादक क्षेत्रका लागि वैदेशिक ऋण लिनु हुँदैन ।’
‘कार्वन उत्सर्जनमा हाम्रो भूमिका न्यून छ, तर कार्वन उत्सर्जनबाट जलवायु परिवर्तन भइरहेको छ, त्यसबाट हाम्रो भूगोल प्रभावित छ । जलवायु परिवर्तनबाट भएको नोक्सानीको क्षतिपूर्ति खोज्ने हाम्रो अधिकार हो’ मन्त्री डा. महतले भन्नुभयो, ‘हाम्रा हिमालहरु पग्लिरहेका छन् । यी कुरा हामीले विश्व बैंक, एडिबी र अन्य डोनरहरुसँग राखेका छौं । जलवायु परिवर्तनमा फाइनान्सका कुरा अन्तर्राष्ट्रिय बैठकमा उठिरहेको छ । हाम्रा कुरा सुन्न थालिएको छ ।’
बैठकमा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै मन्त्री डा. महतले भने, ‘समग्र अर्थतन्त्र राम्रो भयो भनेर मैले बनेको छैन । मैले भनेको, ‘सकारात्मक सूचांकहरु देखिएका छन् । त्यसका आधारमा अर्थतन्त्र सुधार हुन् प्रशस्त सम्भावना छ । त्यसमा हामी सबै मिलेर विल्डअप गरौं ।’  एउटा अर्थमन्त्रालय अथवा सरकार एक्लैले गरेर सम्भव हुने कुरा होइन । निजी क्षेत्रको पनि महत्वपूर्ण भूमिका हुन्छ । सम्पूर्ण नागरिकको समग्र सकरात्मक सोचका साथ अगाडि बढौं, आ–आफ्नो स्थानबाट योगदान दिऔं ।’

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  ०५:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार