तिब्बतसँग जोडिएको दोलखाको लप्चीवासीको दुखेसो, 'हाम्रा दुःख कसैले बुझेन'

शुक्रबार, कात्तिक २४, २०८०

रामेछाप । ‘हामी आफ्नै देशभित्र विदेशी जस्ता भयौं, हाम्रो कुरा सरकारले सुन्दैन, हामीलाई सरकारले केही सहयोग गर्दैन ।’

चीनको तिब्बतसँग सिमाना जोडिएको दोलखाको दुर्गम गाउँ लप्चीका पेम्बा शेर्पाको गुनासो हो यो ।

दोलखाको विगु गाउँपालिका–१ मा पर्ने उत्तरी विकट तिब्बती सिमानामा रहेको लप्ची लामाबगरबाट दुई दिनको कठिन यात्रापछि पुगिन्छ । लप्चीमा १३ घर धुरी छन् । 

लप्चीवासीको मुख्य पेसा याक र चौँरी पालन हो । लप्चीवासीका वर्षको ६ महिना तिब्बतका खर्कमा बित्छन् । बाँकी ६ महिना लप्ची लगायतका नेपालका विभिन्न चौँरीखर्कमा ।

किसान नेपाली याक–चौँरी ६ महिना तिब्बतको चौँरी खर्कमा गोठ राखेर बस्छन् । तिब्बतको खर्कमा बस्दा एउटा याक–चौँरीको वार्षिक दुई घोर्मु कर तिर्नु पर्छ । 

नेपालतर्फ लप्ची, लालुङ, ताक्पालेमु लगायत स्थानमा चौँरी गोठ राखिन्छ । थाङजेमुबाट तल नुमलाङ भ्यालीसम्म गोठ आउँदा ६ महिना नेपालपट्टि बित्छ । नुमलाङ पुस–माघमा बढी हिउँ पर्दा जाडो छल्ने ठाउँ हो । 

उक्त क्षेत्रको सबैभन्दा तलको भूभाग हो गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने लप्ची । त्यही लप्चीमा १३ घर नेपाली कठिन जीवनयापत गरिरहेका छन् ।
जंगली भालुले केही खेती लगाउन दिँदैन । ‘घरमा रहेको रासन, अन्नपात समेत सबै भालुले खाइदिन्छ, घर भत्काएर बास नै उठाइदिन्छ, राम्रो घर कसैको छैन’, पेम्बाले दुःख सुनाए । 

गाउँमा रासन पुर्याउन निकै कठिन छ । दुई दिनको अप्ठेरो बाटो बोकेर रासन पुर्याउनु पर्छ । त्यही पनि भनेको बेला मान्छे पाइँदैन । 

राज्यले दिने कुनै सेवा छैन लप्ची गाउँमा । गाउँमा विद्यालय छैन, लप्चीका बालबालिकालाई पढाउन गुम्बा मार्फत काठमाडौं, सिक्किम र तिब्बतका लामा पाठशालामा पठाइन्छ । 

गाउँमा टेलिफोन छैन, मोबाइलको टावरले काम गर्दैन । विद्युत छैन, अँध्यारोमा नै बस्नु पर्छ । स्वास्थ्य सेवा छैन, जटिल बिरामी भयो भने मृत्यु पर्खनुको विकल्प छैन ।

‘भालुले घर भत्काएर बिजोक बनाउँदा पनि राज्यले सहयोग गर्दैन’ शेर्पाले भने ‘भालुले आतंक मच्चाएर सबैको घरगोठ भत्काएर बिजोग छ, गौरीशंकर संरक्षण क्षेत्रले क्षतिपूर्ति र राहत दिँदैन, घोडा, चौँरी जंगली चितुवाले त्यति नै नोक्सान र्पुयाउँछ, त्यसको पनि क्षतिपूर्ति पाइँदैन, घरको सामान आफू जता गयो त्यतै लानु पर्छ, नत्र भालुले चोरिहाल्छ’, उनले भने । 

नेपालपट्टिबाट सामान लैजान बाटो निकै कठिन भएको शेर्पाले बताए ।  अहिले चीनको नाका बन्द भएको कारण लप्चीवासीलाई बाँच्नै गाह्रो भएको छ । 

लप्चीवासीका कुटुम्ब तिब्बततिरै छन् । लप्चीवासीको मुख्य बजार तिब्बतको कुटी बजार हो । उक्त बजार केही समय खुले पनि अहिले बन्द छ ।

लप्चीमा राम्रो गुणस्तरको चौँरी र याक उत्पादन हुन्छ । त्यस्तै घोडा पनि त्यतिकै राम्रा उत्पादन हुन्छ । तर त्यहाँसम्म पुग्ने बाटो बिकट भएका कारण अन्यत्र बिक्री हुन सकेका छैनन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार