प्रदेशको अधिकार संघीय सरकारले हडपेको कोशीका मुख्यमन्त्रीको आरोप

बिहीबार, कात्तिक २३, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानले प्रदेशलाई दिएको एकल अधिकार सूचीका कामहरु संघीय सरकारले हडपेर राखिरहेको आरोप लगाएका छन् ।

प्रदेशका अधिकार हस्तान्तरण गर्न माग गर्दै उनले हस्तान्तरण नभए मुख्यमन्त्रीकै हैसियतमा सिंहदरबारमा धर्ना दिने चेतावनी उनले दिए ।

कोशी प्रदेशसभामा आज भएको मुख्यमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो चेतावनी दिएका हुन् ।

सांसद गोम्बु शेर्पाले संविधानले दिएका अधिकारहरु कार्यान्वयन गर्न संघले तदारुकता नदेखाउँदा धेरै समस्या भइरहेको भन्दै राखेको जिज्ञासाको उत्तर दिंदै अधिकार हस्तान्तरणका लागि पहल गर्ने बताए ।

संघीय सरकारले कब्जा गरेर राखेका अधिकारलाई प्रदेशमा ल्याउन धर्ना दिने र सर्वोच्च अदालतमा मुद्दा हाल्ने समेत बताए । आफू जसरी हुन्छ प्रदेशको अधिकार छिटो ल्याउने अभियानमा लाग्ने उनले बताए ।

एमालेका ३९ जना सांसदको सहयोगमा मुख्यमन्त्री नियुक्त भएको तर सरकारबाट एमालेलाई बाहिर किन निकालेको भन्ने प्रश्न सांसद बुद्धिकुमार राजभण्डारीले गरेका थिए ।

जवाफमा मुख्यमन्त्री कार्कीले एमालेका सांसदहरुलाई ठाउँ खाली रहेको भन्दै दौरा सुरुवाल नसिलाएको भए सिलाएर बस्न सुझाव दिए । ‘नेकपा एमालेले अहिले पनि सरकारलाई समर्थन गरिरहेको छ । एमाले आफैं सत्ता पक्षको कुर्सीबाट प्रतिपक्षको कुर्सीमा गएर बसेको जगजाहेर छ । आवेगमा आएर नछुट्टिएको भए हुन्थ्यो । मैले नेकपा एमालेको मन्त्रीलाई निकालेको होइन । एमालेसँगको सहकार्यलाई छोडेको पनि छैन ।’ आफूले सहमति र सहकार्यको सर्वदलीय सरकार बनाउने प्रयास गरेको उनले बताए । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १८:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार