कोशी प्रदेशसभाबाट बजेटसम्बन्धी अध्यादेश स्वीकृत

सोमबार, कात्तिक २०, २०८०

विराटनगर । कोशी प्रदेशसभाले बजेटसम्बन्धी अध्यादेश स्वीकृत गरेको छ । प्रदेशसभाको आज बसेको बैठकले उक्त अध्यादेश स्वीकृत गरेको हो । ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक बर्ष २०८०–८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम बिनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ प्रदेशसभाले स्वीकृत गरेको हो । उक्त अध्यादेश अस्वीकृत गर्न माग गर्दै यसअघि सत्ता गठबन्धन दलमा आबद्ध सांसदहरुले प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका थिए । उक्त सूचना सांसद नारायणबहादुर बुर्जा मगरले फिर्ता लिएका थिए । सूचना फिर्ता लिएसँगै अध्यादेश स्वीकृत भएको हो । प्रदेशसभाको बैठकमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत भएको छ । प्रदेशसभाको आजैको बैठकले कर्णालीमा भूकम्पमा परी मृत्यु भएकाहरुको शोकमा शोक प्रस्ताव पारित गरेको थियो । आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले कोशी प्रदेशसभाका सभामुख चयन प्रक्रिया चाँडै थाल्न आग्रह गरेका थिए । यसैगरी सांसदहरुले भूकम्पबाट प्रभावित बनेकाहरुको उद्धार, राहत र व्यवस्थापनमा गम्भीर भएर लाग्न पनि आग्रह गरेका थिए । शून्य समयमा विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरुले आफ्ना क्षेत्रका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण पनि गराएका थिए । प्रदेशसभाको अर्को बैठक मंगलबार बस्ने सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  २०:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार