कोशीः विश्वासको मत कायमै राखेर एमाले प्रतिपक्षमा बस्ने

सोमबार, कात्तिक २०, २०८०

विराटनगर । कोशी प्रदेश सरकारलाई दिएको विश्वासको मत नेकपा एमालेले कायमै राख्ने भएको छ । सरकारलाई दिएको विश्वासको मत कायमै राखेर एमाले प्रतिपक्षमा बस्ने भएको छ ।

एमाले कोशी प्रदेश संसदीय दलको आज सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकारमा एमालेका तर्फबाट सहभागी भएका मन्त्री फिर्ता भए पनि विश्वासको मत कायमै रहेको बताए ।

संसदीय दलको बैठकमा सहभागी कतिपय सांसदहरुले एमालेको सहयोगमा बनेको सरकारमा सहभागी हुनुपर्ने धारणा राखेका थिए ।

प्रमुख सचेतक भण्डारीका अनुसार बजेट अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने निर्णय पनि भएको बताए ।

यसैगरी, कर्णालीका भूकम्प पीडितलाई पारिश्रमिकबाट कट्टा हुने गरी राहत सहयोग दिने निर्णय पनि बैठकले गरेको छ ।

मुख्यमन्त्री बन्न कांग्रेसबाट विद्रोह गरेका केदार कार्कीलाई एमालेले समर्थन गरेको थियो।

कार्की मुख्यमन्त्री नियुक्त भएकै दिन एमालेका राम राना र कांग्रेसका शमशेर राईलाई मन्त्री नियुक्त गरेका थिए ।

मन्त्रिपरिषद विस्तार गर्ने क्रममा मुख्यमन्त्री कार्कीले माओवादी र नेकपा एकीकृत समाजवादीबाट एक–एकजना मन्त्री थपेका थिए ।

आफूसँग सल्लाह नगरी गठबन्धन दललाई सरकारमा सहभागी गराएको भन्दै एमाले असन्तुष्ट बनेको थियो ।

त्यही कारण उसले आफ्ना मन्त्री रानालाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । मन्त्री रानाले राजीनामा दिइसकेका छन् ।

यसैबीच, कोशी प्रदेशसभाको बैठक आज बस्दैछ ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १९:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार