नेपालमा अमेरिकी सहयोग बढाउन आग्रह गरेको छु : परराष्ट्रमन्त्री साउद

आइतबार, कात्तिक १९, २०८०

काठमाडौं । परराष्ट्र मन्त्री, एनपी साउदले, आफ्ना्े अमेरिका भ्रमण सफल भएको बताएका छन्।  अमेरिकाबाट फर्किएपछि परराष्ट्रमन्त्री एनपी साउद त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसंग उनले आफूले अमेरिकालाई नेपालमा जारी सहयोग बढाउन आग्रह गरेको बताए । त्यस्तै एमसीसी कार्यान्वयनलगायका विषयमा पनि अमेरिका भ्रमण क्रममा त्यहाँका विदेशमन्त्री एन्टोनी व्लिङ्केनसंग कुराकानी भएको बताए ।
त्यस्तै नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नती हुन लागेको सन्दर्भमा छलफल गर्दै नेपालको विकास प्राथमिकताका बिषयमा समेत छलफल भएको उनले बताएका छन् ।
उनले भने ‘विदेश मन्त्रीसँगको भेटको सन्दर्भमा नेपाल अमेरिका दुईपक्षीय सम्बन्धमा तथा साझा चासोका क्षेत्रीय र अन्तराष्ट्रिय विषयमा विचारको आदानप्रदान भयो । दुवै पक्षले आपसि हितको विषयमा सहकार्यलाई थप विस्तार र घनिबुद बनाउने प्रतिवद्धता व्यक्त ग¥यौ. । नेपाल अल्पविकसित मूलुकबाट स्तरोन्नती हुन लागेको समयमा मैले नेपालको विकास प्राथमिकताका बारेमा प्रकाश पार्दै सूचना प्रविधिको विकास खाद्य सुरक्षा कृषिको विकास बजार पहुँच ,लगानि र व्यापार लगायतका क्षेत्रहरुमा अमेरिकि सरकारका तर्फबाट सहयोग गर्न आग्रह गरेको छु । ’
आफ्नो अमेरिका भ्रमणले, दुई देशबीचको सम्बन्धलाई उचाईमा पु¥याउने उनको विश्वास छ । ‘समग्रमा मेरो अमेरिका भ्रमणमा त्यहाका उच्च सरकारी पदाधिकारीहरु, सिनेटर, नेपालका मित्रहरु, सूचना प्रविधि क्षेत्रका अमेरिकन–नेपाली पेशाविद्हरु तथा व्यवसायीहरुसँग भएको भेटघाट तथा कुराकानी अत्यन्त सौहार्द्धपूर्ण, सकारात्मक एवम् फलदायी रह्यो।त्यसैगरी मेरो भ्रमणबाट आगामी दिनमा नेपालमा सूचना प्रविधि क्षेत्रमा अमेरिकी लगानी प्रवर्द्वन गराउन मद्दत पुग्ने विश्वास लिएको छु।तसर्थ,मेरो भ्रमणवाट नेपाल र अमेरिकाबीचको आपसी मित्रता,समझदारी र सहयोगमा अभिवृद्धि भई द्विपक्षीय सम्वन्धलाई अझ उचाइमा पुर्याउन योगदान पुग्ने विश्वास लिएको छु।’ उनले भनेका छन् ।

विमानस्थलमा मन्त्री साउदले गरेको सम्बोधनको पूर्णपाठ
संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण समापन गरी स्वदेश फर्कनु हुंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माननीय परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले गरेको सम्बोधन
उपस्थित पत्रकार मित्रहरु,
१.    संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री महामहिम श्री एन्टोनी व्लिङ्केनको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको भ्रमणको लागि म २०८० साल कार्तिक १२ गते (तदनुसार अक्टुवर२९, २०२३) काठमाडौबाट प्रस्थान गरी आज स्वदेश फर्केको छु । मेरो भ्रमण बारेमा विभिन्न संचारमाध्यमहरुबाट तपाइँहरु अवगत नै हुनुहुन्छ । तथापि भ्रमणका बारेमा म तपाइँहरुलाई देहाय बमोजिम जानकारी गराउन चाहन्छु ।
२.    भ्रमणका क्रममा मैले अमेरिकी विदेशमन्त्री महामहिम एन्टोनी व्लिङ्केनसंग प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता गरेँ । विदेशमन्त्रीसंगको भेटका अवसरमा नेपाल‒अमेरिका द्विपक्षीय सम्वन्धका बिषयहरु तथा साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय बिषयहरुमा विचारको आदान–प्रदान भयो । दुबै पक्षले आपसी हितका बिषयहरुमा सहकार्यलाई थप विस्तार र घनीभूत बनाउने प्रतिवद्धता व्यक्त गर्यौँ । नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नती हुन लागेको सन्दर्भमा मैले नेपालको विकास प्राथमिकताका बिषयहरुमा प्रकाश पार्दै सूचना प्रविधिको विकास, खाद्य सुरक्षा,  कृषिको विकास, बजार पहुँच, लगानी र व्यापार लगायतका क्षेत्रहरुमा अमेरिकी सरकारबाट सहयोग बढाउन आग्रह गरेको छु । त्यस्तै,  नेपालको लागि निर्यातयोग्य गार्मेन्ट,  फुटवेयर र फार्मास्युटिकल बस्तुहरु थप गर्दै GSP सुविधा र Nepal Trade Preference Programme (NTPP) को विस्तार र पुनःअनुमतीको लागि अनुरोध गरेको छु । सो अवसरमा हालैकोMillennium Challenge Compact (MCC)/USAID मार्फत उपलब्ध अमेरिकी सहयोग लगायत नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोगको लागि अमेरिकी सरकारलाई मैले धन्यवाद दिएँ । दुबै पक्षले MCC अन्तर्गतका परियोजनाहरुको समयमै कार्यान्वयनको महत्वमा जोड दियौँ ।
३.    भेटवार्तामै नेपालको लोकतान्त्रिक शासन प्रणालीको सुदृढीकरण गर्नमा भएको प्रगतिलाई प्रशंसा गर्दै अमेरिकी विदेश मन्त्रीले अमेरिकी सरकार नेपाल एक बलियो र समृद्ध लोकतन्त्र भएको हेर्न चाहेको बताउनु भयो । नेपालको विकास प्रयत्नमा अमेरिकी सरकारको निरन्तर सहयोग रहने अमेरिकी विदेशमन्त्री श्री व्लिङ्केनले आश्वस्त पार्नुभयो । सो अवसरमा हामीले मध्यपूर्वको अवस्था लगायत क्षेत्रीय र विश्व मामिलाहरुका साझा चासोका बिषयहरु र बहुपक्षीय मंचहरुमा आपसी सहयोगका बिषयहरुमा विचारको आदान–प्रदान गर्यौं ।

४.    अमेरिकाबाट नेपालमा लामो समय देखि उच्चस्तरीय भ्रमण नभएको बिषय उल्लेख गर्दै मैले अमेरिकी विदेश मन्त्री महामहिम एन्टोनी व्लिङ्गेनलाई नेपालको औपचारिक भ्रमण गर्न आमन्त्रण गरेको छु । मैले अमेरिकी विदेश मन्त्रालयमा राखिएको Guest Book मा पनि हस्ताक्षर गरेँ ।

५.    भ्रमणको क्रममा मैले United States Institute of Peace (USIP) ले वाशिङ्गटनमा आयोजना गरेको Talk Programme मा सहभागी भई ‘Nepal Foreign Policy OutlookÚ’ बिषयमा आफ्नो विचार राखेँ । त्यसैगरी USAID की Administrator महामहिम श्री समन्था पावर, सिनेटर श्री क्रिस भान होलान तथा US International Development Finance Corporation (DFC) को CEO श्री स्कोट नाथनसंग पनि छुट्टाछुट्टै भेट गरेँ । मैले नेपाली दूताबासमा MCC CEO महामहिम श्री अलिस अलब्राइट, अमेरिकी विदेश मन्त्रालयकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार मामिला हेर्ने उपविदेश मन्त्री श्री उज्रा जेया,तथा अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ डाइरेक्टर श्री आइलीन लाउवाकरसंग पनि छुट्टाछुट्टै भेट गरेँ ।

६.    USAID की Administrator श्री समन्था पावरसंगको भेटमा USAID ले नेपालको सामाजिक–आर्थिक विकासमा पुर्याएको निरन्तर सहयोगका लागि धन्यवाद दिदै USAID ले नेपाललाई उपलब्ध गराएको सहयोग अन्तर्गतका चालु परियोजनाहरुका बारेमा र विकास सहयोगको लागि भविष्यमा उपलब्ध हुनसक्ने अवसरहरु खासगरी पूर्वाधार विकास, खाद्य सुरक्षा र रसायनिक मल उत्पादन प्लान्टको संभाव्यतामा केन्द्रित भइ मैले कुरा गरेँ ।

७.   MCC की CEO श्री अलिस अलब्राइटसंगको भेटमा नेपालमा ःऋऋ अन्तरगतको परियोजनाहरुको कार्यन्वयन तोकिएको ५ बर्षको समय भित्रै सकिने बिषयमा हाम्रो छलफल केन्द्रित भयो ।
८.    सिनेटर श्री क्रिस भान होलानसंगको भेटमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धहरु खासगरी दुई देशका संसदहरुबीच भ्रमण आदान–प्रदानको महत्वका बारेमा कुराकानी भयो। अमेरिकी विदेश मन्त्रालयकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार मामिला हेर्ने उपविदेश मन्त्री श्री उज्रा जेयासंगको भेटमा मानवअधिकारको प्रवर्द्धन र संरक्षण लगायत आपसी हितका बिषयहरुमा छलफल भयो ।
९.    DFC का CEO श्री स्कट नाथनसंगको भेटमा निजी क्षेत्रको लगानी बढाउन नेपाल सरकारले लिएका कदमहरुका बारेमा प्रकाश पार्दै नेपालमा अझ बढी अमेरिकी निजी क्षेत्रको लगानी बढाउन प्रोत्साहन गर्न आग्रह गरेँ । CEO श्री नाथनले नेपालमा साना तथा मझौला व्यवसायहरुका अलावा पूर्वाधार विकास, उर्जा र कृषि व्यवसाय लगायतका क्षेत्रहरुमा अझ बढी परियोजनाहरु चाहेको बताउनु भयो।वहाँले DFCले वित्तीय लगानीमा मात्र संलग्न नभई यसले निजी क्षेत्रको विकासको लागि वातावरण सिर्जना गर्न पनि सहयोग गर्ने बताउनु भयो ।

१०.    भ्रमणकै क्रममा US Chamber of Commerce को हेडक्वार्टरमा US Chamber of Commerce ले American Chamber of Commerce in Nepal (AmCham) लाई मान्यता (Accreditation) प्रदान गरेको कार्यक्रममा म उपस्थित भएँ । सो अवसरमा मैले नेपाल र अमेरिकाका निजी क्षेत्रहरुबीच अझ बढी engagements हुनु पर्ने आवश्यकतामाथि जोड दिएँ । मैले उर्जा, सूचना प्रविधि, पर्यटन र अन्य प्राथमिकताका क्षेत्रहरुमा नेपालमा लगानीका अवसरहरु खोजी गर्न अमेरिकी ब्यवसायीहरुलाई आमन्त्रण गरेँ । AmCham लाई US Chamber of Commerce ले प्रदान गरेको मान्यताले नेपालको निजी क्षेत्र विश्वका व्यवसायिक निकायहरुसंग संस्थागत रुपमा जोडिन पुग्नेछन् । यसबाट नेपाल र अमेरिकाबीच आर्थिक सम्बन्धहरु कायम भई द्विपक्षीय व्यापार र लगानी प्रवर्द्धनमा सहयोग पुग्ने आशा गरिएको छ ।

११.    राजदूताबासद्वारा आयोजित IT क्षेत्रका पेशाविद् एवम् विभिन्न कम्पनीमा कार्यरत नेपाली–अमेरिकी व्यवसायीहरुसंग प्रत्यक्ष र भर्चुअल माध्यमबाट छलफल गरेँ।नेपालमा सूचना प्रविधि क्षेत्रमा भएको विकास र नेपाली–अमेरिकी व्यवसायीहरुले यस क्षेत्रमा गर्न सक्ने योगदानका बारेमा छलफल केन्द्रित थियो।सो अवसरमा मुलुकको सर्वाङ्गिण आर्थिक विकास र गुणात्मक रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्न सक्ने सूचना प्रविधि कम्पनीहरुबाट लगानी आकर्षित गर्न, IT Solutions को विकासलाई मजबुत बनाउन नेपाल सरकारप्रतिबद्ध रहेकोमा जोड दिएँ ।
१२.    मेरो प्रतिनिधिमण्डलको सम्मानमा अमेरिकाका लागि नेपाली राजदूतले आयोजना गर्नु भएको स्वागत समारोहमा म सहभागी भएँ। सो अवसरमा अमेरिकी सरकारका विभिन्न निकायहरुका उच्च पदाधिकारीहरु, विदेशी राजदूतहरु, नेपालका मित्रहरु तथा नेपाली समुदायका प्रतिनिधिहरुसंग नेपाल–अमेरिका सम्वन्धको सुदृढीकरण एवम् द्विषक्षीय सहयोग विस्तारका संभावनाहरुका वारेमा कुराकानी गरेँ ।
१३.    यसैगरी मैले नेपाली–अमेरिकी व्यवसायीहरु तथा नेपाली डायस्पोराका प्रतिनिधिहरुसंग नेपाली दूताबास, वाशिङ्गटन डी. सी. मा आयोजित छुट्टाछुट्टै अन्तरकृया कार्यक्रमहरुमा उपस्थित भई वहाँहरुलाई नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा उक्त स्तरोन्नतिलाई Smooth, Sustainable / Irreversible बनाउन तथा सन् २०३० सम्म संयुक्त राष्ट्रसंघको दिगो विकासका लक्ष्यहरु हासिल गर्न ठूलो स्रोत, साधन, प्रविधि, लगानी तथा आर्थिक सहकार्यको आवश्यकता रहको जानकारी गराएँ।साथै,  वहाँहरुलाई लगानी, प्रविधि, ज्ञान र सिप नेपालमा ल्याई नेपालको आर्थिक विकासमा सहयोग गर्न आग्रह गरेँ ।  
१४.    भ्रमणकै क्रममा म बोस्टन भ्रमण गरी Massachusetts Institute of Technology (ःMIT) मा आयोजित नेपाली–अमेरिकन पेशाविद्हरु, उद्यमीहरु,विद्यार्थीहरु तथा समुदायका प्रतिनिधिहरुसंग अन्तरकृया कार्यक्रममा भाग लिएँ ।  सो अवसरमा अमेरिकी लगानी, प्रविधि, ज्ञान र सिप नेपालमा ल्याइ नेपालको आर्थिक विकासमा सहयोग गर्न वहाँहरुलाई आग्रह गरेँ । त्यसैगरी, MITमा रहेको Koch Institute for Integrative Cancer Research Center Lab को अवलोकन भ्रमण गरेँ ।

१५.    मेरो नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत एवम् परराष्ट्र मन्त्रालय तथा वाशिङ्गटनस्थित नेपाली दूताबासका उच्च पदाधिकारीहरु र व्यापारिक समूदायबाट American Chamber of Commerce का अध्यक्षको सहभागिता रहेको थियो ।
१६.    समग्रमा मेरो अमेरिका भ्रमणमा त्यहाका उच्च सरकारी पदाधिकारीहरु, सिनेटर, नेपालका मित्रहरु, सूचना प्रविधि क्षेत्रका अमेरिकन–नेपाली पेशाविद्हरु तथा व्यवसायीहरुसँग भएको भेटघाट तथा कुराकानी अत्यन्त सौहार्द्धपूर्ण, सकारात्मक एवम् फलदायी रह्यो।त्यसैगरी मेरो भ्रमणबाट आगामी दिनमा नेपालमा सूचना प्रविधि क्षेत्रमा अमेरिकी लगानी प्रवर्द्वन गराउन मद्दत पुग्ने विश्वास लिएको छु । तसर्थ,मेरो भ्रमणवाट नेपाल र अमेरिकाबीचको आपसी मित्रता,समझदारी र सहयोगमा अभिवृद्धि भई द्विपक्षीय सम्वन्धलाई अझ उचाइमा पुर्याउन योगदान पुग्ने विश्वास लिएको छु ।
१७.    मेरो भ्रमणको लागि मिलाइएको उत्कृष्ट प्रबन्धको लागि म अमेरिकी सरकारको विदेश मन्त्रालय, काठमाण्डौस्थित अमेरिकी दूताबास तथा वाशिङ्गटनस्थित नेपाली दूताबासलाई हार्दिक धन्यवाद दिन चाहन्छु। साथै, भ्रमणका बारेमा सूचना सम्प्रेषित गर्नुहुने संचार माध्यमहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।
धन्यवाद ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  २१:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार