पुसभित्रै रेल चल्न कति सम्भाव छ ? 

कानुन र कर्मचारीन विहिन भए पनि रेलवे कम्पनीले चलाउने
शुक्रबार, मंसिर २६, २०७७

काठमाडौं । गत असोजमा नेपाल भित्रिएको रेल ट्रयाकमा थन्किएको तीन महिना पुग्दा समेत सञ्चालनमा आउन सकेको छैन । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म चल्ने भनिएको रेल ‘आवश्यक तयारी नगरी किन्दा’ सञ्चालनमा आउन नसकेको रेल विभागका अधिकारीहरू स्वीकार गर्छन् । रेल सञ्चालनका लागि आवश्यक जनशक्ति नपुग्ने र अन्तर्देशीय रेलमार्ग भएकोले भारतसँग आवश्यक सहकार्यको खाका तयार हुन बाँकी रहेको रेल विभागका अधिकारीको भनाइ छ । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले ‘पुस मसान्त भित्रमा रेल सञ्चालनमा आउने’ दाबी गरेका छन् । भारतीय सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा भारतको जयनगरदेखि नेपालको जनकपुर हुँदै बर्दिबाससम्म ६९ किलोमिटर रेलमार्ग निर्माणाधीन छ । हाल कुर्थादेखि जयनगरसम्म ३५ किलोमिटर रेल सञ्चालन गर्नका लागि रेल खरिद गरिएको हो । नेपालले करिब ८५ करोड रुपैयाँमा भारतबाट रेलको दुई सेट खरिद गरेको हो ।

सञ्चालन हुन नसक्नुका कारण
निकै लामो समय लगाएर नेपालले रेल खरिद गरेको भए पनि आवश्यक तयारी पूर्ण हुन नसक्दा रेल थन्किन बाध्य भएको रेलवे विभागका प्रवक्ता अमन चित्रकारले बताए । रेल सञ्चालनका लागि आवश्यक कानुनदेखि दक्ष जनशक्ति उपलब्ध नहुँदा रेल कहिले सञ्चालनमा आउने हो भन्ने कुराको समेत यकिन गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ । ‘हामीले रेल सञ्चालनका लागि आवश्यक केही जनशक्ति ‘आउटसोर्स’ नगरी हुँदैन’ चित्रकारले भने । यो अन्तर्देशीय रेलमार्ग भएकाले सबै कुरा नेपाल एक्लैले गर्न सक्ने अवस्था पनि रहँदैन । भारतसँग पनि सहकार्य गर्नुपर्ने हुन्छ जुन दुई देशको संयुक्त संयन्त्र बैठकमार्फत् भइरहेको छ । संयन्त्रको पछिल्लो बैठकका क्रममा ‘स्टयान्डर्ड अपरेटिङ प्रसिडयोर’ तयार पार्ने काम भइरहेको छ ।
गत भदौ महिनामा नेपाल रेल्वे कम्पनी लिमिटेडले कर्मचारीहरूको माग गर्दै सूचना जारी गरेको थियो । करिब १३० पदका लागि कर्मचारी माग गरिएको थियो । तर करारमा ठूलो संख्यामा कर्मचारी ल्याउने विषयमा विवाद उत्पन्न भएपछि लोकसेवा आयोगले प्रक्रिया अगाडि बढाउने गरी मोडिएको छ । 
रेलमार्ग सञ्चालनका लागि नेपालमा दक्ष जनशक्ति उपलब्ध नभएकाले तत्कालका लागि भारतबाटै ल्याउने गरी तयारी थालिएको छ । 
‘प्राविधिक अनि सुरक्षासँग सम्बन्धित विषयका लागि दक्ष जनशक्ति खोजी गरिएको हो’ अधिकारीले भने । तत्कालका लागि संघीय मामिला मन्त्रालय अन्तर्गतका केही कर्मचारी र सडक अनि रेल विभागका कर्मचारीका साथै केही पूर्वकर्मचारीहरूलाई समेटेर रेल सञ्चालनका लागि अन्तिम तयारी भइरहेको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईले जानकारी दिए । उनले ‘पुस मसान्त भित्रमा रेल सञ्चालनमा आउने’ दाबी समेत गरे ।

कानुनको अभाव
रेल सञ्चालनमा कर्मचारी बाहेक कानुनको अभाव पनि खड्किएको अधिकारीहरू बताउँछन् । संसद्मा कानुनको मस्यौदा पेस गरिएको भए पनि तत्कालका लागि बाटो खुला गर्न अध्यादेश ल्याउने गरी तयारी थालिएको उनीहरू बताउँछन् । गत पुसमा सरकारले रेलसम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस गरेको थियो । ‘कानुन राष्ट्रिय सभाबाट छलफल भएर लगभग टुङ्गिएको अवस्था छ । यो बिस्तारै अब तल्लो सदनमा आउला । त्यो कानुन आउन समय लाग्ने भयो भने सुरक्षा र सम्पत्तिसँग सम्बन्धित विषय समेटेर अध्यादेशमार्फत रेल सञ्चालन गर्ने तयारी भएको छ’ भट्टराईले भने, ‘यो लगभग तयार भइसकेको छ र प्रधानमन्त्रीसँग छलफल भई अगाडि बढाउन स्वीकृत भइसकेको छ । यसमा समस्या हुँदैन ।‘

रेलको सुरक्षा
इनरुवामा रेलको ट्रयाकमै पार्क गरेर राखिएको रेलको सुरक्षार्थ सशस्त्र प्रहरी खटाइएको छ । सञ्चालनमा आउन नसकेको तयार राख्न लागि ‘अपकिपिङ’को काम गरिराखेको अधिकारीहरू बताउँछन् । ‘रेल बेच्ने कम्पनीले नै हाम्रा कर्मचारीहरूको उपस्थितिमा रेल स्टार्ट गर्ने, अगाडी–पछाडि गराउने जस्ता कामहरू गरिरहेका छन् । त्यो निश्चित समयान्तरमा निरन्तर भइरहेको छ’ उनले भने । रेलको सुरक्षामा प्रहरी परिचालन गरिएको भए पनि रेलको ट्रयाकबाट ठूलो संख्यामा क्लीप चोरी भएको विवरणहरू सार्वजनिक भएका छन् । हालसम्म रेलवे ट्रयाक हस्तान्तरण नभइसकेको हुँदा चोरी भएका सामान भारतले राखिदिने र छिट्टै हस्तान्तरण सम्पन्न हुने भट्टराईले बताए ।–बीबीसी 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७  १५:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार