विपिन जोशीलाई हमासको कब्जाबाट छुटाउन कूटनीतिक पहल गर : कमल थापा

शनिबार, कात्तिक १८, २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई छुटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले हमाससँग नेपालको दुश्मनी नभएको भन्दै हमाससँग राम्रो सम्बन्ध भएका देशहरुमार्फत् कूटनीतिक प्रयास गरे विपिनलाई छुटाउन सकिने उल्लेख गरेका छन् ।
उनले सरकारलाई यस्तै अवस्थामा कूटनीतिक कौशल देखाउनु पर्ने पनि बताएका छन् ।
उनले लेखेका छन्, ‘इजरायली सरकारका अनुसार नेपाली विद्यार्थी विपिन जोशी हमासको कब्जामा छन् । हमाससँग नेपालको दुश्मनी छैन । विपिन परिबन्दले कब्जामा परेका हुन् । नेपाल सरकारले मध्यपूर्वका हमाससँग राम्रो सम्बन्ध भएका देशहरुमार्फत् कूटनीतिक प्रयास गरे छुटाउन सकिन्छ । यसतर्फ म सरकारको ध्यानाकर्षण गर्दछु । यस्तो बेला हो, कूटनीतिक कौशल देखाउने ।’


इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता पारिएका कञ्चनपुरका विपिन प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको थियो । जोशी अक्टोबर ७ देखि बेपत्ता छन् । 
इजरायलको प्रधानमन्त्री कार्यालयले हमासको बन्धकमा जोशीसहित एक सय २२ विदेशी नागरिक रहेको जनाएको छ । तीमध्ये सबैभन्दा बढी थाइल्यान्डका २४ जना छन् ।

गाजा क्षेत्रमा विपिन जोशीको खोजी
हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीसहित २४० जनालाई सकुशल मुक्त गर्न इजरायलले गाजा क्षेत्रमा खोजी थालेको छ । गत शुक्रबार साँझदेखि इजरायली सेनाले गाजामा सर्च अपरेसन गरिरहेको छ ।

‘हामी विपिन जोशीलाई सकुशल नेपाल फिर्ता ल्याउन चाहन्छौं, यसका लागि इजरायल सरकारले मुक्त गर्ने कोसिस जारी राखेको छ,’ नेपालका लागि इजरायली राजदूत हानान गोडरले भने, ‘विपिन जोशी एक महिनादेखि हमासको बन्धकमा छन् ।’ उनले बन्धकलाई मुक्त गर्न हमाससँग सम्झौता नगर्ने पक्षमा इजरायल उभिएको बताए । ‘हामी बिनासर्त बन्धकको रिहाइ चाहन्छौं,’ उनले भने ।

इजरायलले २७ दिनदेखि हराइरहेका जोशी हमासको नियन्त्रणमा रहेको जानकारी नेपाल सरकारलाई पनि दिएको छ । जोशीलाई गाजापट्टीको सीमानजिक रहेको किवुज अलुमिमबाट हमास लडाकुले अक्टोबर ७ को बिहान १२ बजेतिर लिएर गएका थिए । ‘विपिन ढोका छेउमा बसिरहेका थिए । हमास आतंककारीले हातले तानेर लिएर गएको मैले देखेको हुँ,’ विपिनसँगै बंकरमा लुकेर बसेका कैलालीका वीरेन्द्र चौधरीले भने, ‘त्यसपछि के भयो मलाई थाहा छैन ।’

isarel-gaja attack1660014980.jpg
इजरायली राजदूत गोडरले ज्यान गुमाएका १० नेपालीको सम्झनामा बुधबार दीप प्रज्वलनमा सहभागी हुन हमासको आक्रमणबाट ज्यान जोगाउन सफल भएका चौधरी, कैलालीका धनबहादुर चौधरी र सल्यानका प्रवीण केसी सहभागी थिए । ‘हामी बसेको बंकरमाथि दुई पटक हमासका लडाकु आएर दुई पटक नै गोली बर्साए । ममाथि हमासको नजर परेन,’ वीरेन्द्रले भने, ‘हामीले १० जना साथी गुमायौं, कति साथीहरूलाई पानी खुवाउन पाएँ, कतिलाई पाइनँ । केही साथीहरूले अत्यधिक रगत बगेर ज्यान गुमाए ।’
ग्रिनेडको छर्रा लागेर घाइते भई फर्किएका धनबहादुरले घाइते भएको ९ घण्टापछि उद्धार भएको बताए । ‘बिहान आठ बजे ग्रिनेड लागेर घाइते भएको थिएँ । केही साथी गोली लाग्नासाथ भुइँमा ढालिहाले । म घाइते भएपछि कोठाभित्र आफ्नै बेडमा गएर बसे । घाइते भएका साथीहरू कोठाभित्रै आएर बसेका थिए । एय्या एय्या भन्दै पछि आवाज आउन छोड्यो,’ धनबहादुरले भने, ‘साथीहरूले अनाहकमा ज्यान गुमाउनुपर्‍यो ।’

राजदूत गोडरले निर्दोष नेपाली विद्यार्थीको हत्या गर्ने हमासलाई खोज्न इजरायली सेना गाजापट्टीमा खटिएको बताए । ‘अक्टोबर ७ यता हामी युद्धमा छौं । इजरायलको भूमिमा प्रवेश गरी हमास आतंककारीले १४ सय जनाको सामूहिक नरसंहार गरे । त्यसमा १० जना नेपाली विद्यार्थीको पनि हत्या भयो । उनीहरूलाई गोली हान्नेलाई खोज्न इजरायली सेना गाजामा खटिएका छन्,’ उनले भने, ‘जबसम्म तिनीहरू समातिँदैनन्, तबसम्म सेना फिर्ता आउने छैनन् ।’
असोज २० देखि सुरु इजरायल–हमास युद्ध रोक्न संसारभर प्रदर्शन भइरहेका छन् । युद्धविरामका लागि संयुक्त संघमा विशेष प्रस्ताव पेस भएको छ । नेपालसहित १२० मुलुकले राष्ट्रसंघको महासभामा युद्धविरामको पक्षमा मतदान गरेका छन् । अमेरिकालगायत १४ मुलुकले उक्त प्रस्तावको विपक्षमा मतदान गरेका छन् । युरोपेली मुलुकसहित ४५ मुलुक मतदान प्रक्रियामा सहभागी भएनन् । तर, इजरायली राजदूत गोडरले गाजामा हमासको अन्त्य नभएसम्म युद्ध नरोकिने बताए । ‘हामी युद्धविरामको पक्षमा छैनौं, सधैं डसिरहने सर्पलाई नजिक बनाएर राख्न सकिँदैन,’ उनले भने, ‘हमासको अन्त्य नभएसम्म हाम्रा लागि अर्को विकल्प छैन ।’
‘हामी सधैंभरि अक्टोबर ७ दोर्‍याउन नदिने पक्षमा उभिएका छौं । अहिले युद्धविराम गर्दा फेरि हमासले यहुदी र इजरायलीलाई लक्षित गरी सामूहिक हत्याको प्रयास गर्ने छैन भन्ने सुनिश्चित छैन,’ गोडरले भने, ‘अब यो युद्धलाई नै अन्तिम बनाउनेछौं ।’
असोज २० गते भएको हमासको आक्रमणमा इजरायलमा १४ सय जनाको ज्यान गएको थियो । इजरायलको जवाफी कारबाहीमा ९ हजार जनाभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत मंगलबार र बुधबार गाजाको जावेलिया शरणार्थी शिविरमा इजरायलले गरेको बमबारीमा परेर थप १ सय ९५ जना मारिएको बताइएको छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  ०५:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार