कोशी प्रदेश सरकारमा थपिए दुई मन्त्री, माओवादी र नेकपा एस पनि सरकारमा

शुक्रबार, कात्तिक १७, २०८०

विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद् विस्तार गरिएको छ । मन्त्रिपरिषद्मा दुईजना मन्त्री थपिएका छन् । माओवादीका गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जवेगु मन्त्रिपरिषद्मा थपिएका हुन् ।

दुवै मन्त्रीले आजै पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार साँझ पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले यसअघि मन्त्रिपरिषदमा एमालेबाट रामबहादुर राना मगर र काँग्रेसका शमशेर राईलाई मन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्री कार्कीसहित अब कोशी प्रदेश सरकार पाँच सदस्यीय बनेको छ ।

पुराना र नयाँ थपिएका सबै मन्त्रीहरु हाल बिना विभागीय छन् । गठबन्धन दलहरुबीच छलफल भएपछि उनीहरुलाई जिम्मेवारी दिइने छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १९:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार