राष्ट्रसङ्घका महासचिव गुटेरसले आज संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

मंगलबार, कात्तिक १४, २०८०

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले आज अपराह्न सङ्घीय संसद्को संयुक्त सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रसंघका महासचिव गुटेरसको सम्बोधनका लागि संसद् सचिवालयले अन्तिम चरणको काम गरिरहेको छ । 
‘तयारी अन्तिम चरणमा पुगिसकेको अवस्था छ । अधिवेशन चलिरहेको अवस्था भएकाले सबै सिस्टमहरू पुनः जाँच गर्ने काम भएको छ । अन्य व्यवस्थापनका कामहरू पनि आवश्यकता अनुसार भइरहेका छन् । आज १० बजेसम्म सबै काम सकिन्छ’, संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

सभामुखको अध्यक्षतामा सञ्चालन हुने संयुक्त बैठक प्रारम्भ भएसँगै गुटेरेसले सम्बोधन गर्ने कार्यसूची छ ।  सम्बोधनलगत्तै सोही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्ने छ । 
महासचिव गुटेरेसको सम्बोधनको संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै अभिलेख राख्ने  छ ।महासचिव गुटेरस आजै लुम्बिनी पुग्ने कार्यक्रम रहेको छ । सोमवार बिहान गुटेरस सगरमाथा क्षेत्रको खुम्जुङ गाउँ पुगेका थिए ।
सामाजिक सञ्जाल एक्स (पहिलेको ट्वीटर) मा राखिएको एक भिडिओमा सगरमाथाको पृष्ठभूमिमा उभिएर बोल्दै उनले ‘हिमालय क्षेत्रका हिमनदी रेकर्ड तहमा पग्लिरहेको’ बताएका छन् ।
‘ग्रीनल्यान्ड वा एन्टार्कटिकामा समुद्री सतह बढिरहेझैँ यहाँ हामीले पनि क्षय भैरहेको देखिरहेका छौँ’, उनले भनेका छन्, ‘हामीले समुदायहरूमा नाटकीय परिवर्तन भइरहेको देखेका छौँ । हामीले यो बहुलठ्ठीपनलाई रोक्नुपर्छ।’
उनले नेपालमा रहेका राष्ट्रसङ्घका कर्मचारीहरूलाई पनि काठमाडौंमा सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ०५:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार