आज खण्डग्रास चन्द्रग्रहण लाग्दै 

शनिबार, कात्तिक ११, २०८०

काठमाडौं । आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते (आज) खण्डग्रास चन्द्रग्रहण लाग्दै छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सूतक अपराह्न ४ः१९ बजेदेखि सुरु हुने छ ।  राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात् समाप्त हुने पञ्चांग मा उल्लेख छ ।
ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्न हुन्छ । विशेष कामना राखेर गरिने कर्म भने गर्न हुँदैन । आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म तीन यस्ता कर्म गर्न नहुने शास्त्रीय वचन रहेको छ ।
यो चन्द्रग्रहण वि.सं. २०८० मा लाग्ने एउटै ग्रहण हो । 
चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सूतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख छ ।
अपराह्न ४ः१९ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।
गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । गत वर्ष चान्द्रमासानुसार कार्तिक कृष्ण औँसीमा सूर्यग्रहण र कार्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो । 

ग्रहणमा के गर्न हुन्छ ? के गर्न हुँदैन ?
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खानबाहेक ग्रहण र यसको सूतकका बेला नित्यकर्म गर्न हुन्छ । ग्रहणका समयमा दीक्षामन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको छ । 
ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख छ । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  ०८:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार