चाडबाडमा ड्रोनबाट पनि सुरक्षा निगरानी गर्दै नेपाल प्रहरी

आइतबार, कात्तिक ५, २०८०

काठमाडौं । केही साताअघि मलङ्गवा र धरानमा भएका साम्प्रदायिक तनावको पृष्ठभूमिमा यसपालि चाडबाडका बेलामा थप सुरक्षा निगरानी बढाइएको प्रहरीले जनाएको छ । कुनै प्रकारका अप्रिय घटना हुन नदिने गरी सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको प्रहरी नायब महानिरीक्षक तथा केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले बताए ।

प्रहरीले ठूला चाडबाड (दशैँ, तिहार र छठ) लाई लक्षित गरेर असोज २१ गतेबाट सुरु गरी छठ पर्व अर्थात्‌ मंसिर ३ गतेसम्म सुरक्षा योजना लागु गरेको छ। पछिल्ला घटनाहरूलाई पनि ध्यानमा राखी विगतमा भन्दा सुरक्षा निगरानी थप कडा पारिएको प्रहरीले बताएको छ ।

केही साताअघि सर्लाहीको मलङ्गवा र सुनसरीको धरानमा साम्प्रदायिक तनाव हुँदा स्थिति नियन्त्रणमा राख्न स्थानीय अधिकारीहरूले ठूलो सङ्ख्यामा प्रहरी परिचालन गर्नुका साथै केही दिनसम्म निषेधाज्ञासमेत जारी गरेका थिए ।

नेपाल प्रहरी

सुरक्षा योजनामा के छ ?
नागरिकको जनधनको सुरक्षादेखि चाडबाडका बेला हुने बाक्लो आवतजावतलाई समेत सहज बनाउने हिसाबले प्रहरी परिचालन गरिएको प्रहरी प्रवक्ता कडायतले बताए ।

“सीमानाकामा अलि बढी निगरानी गर्ने, त्यसअन्तर्गत जाँचका क्रममा हामी कुकुरको समेत प्रयोग गर्छौँ,” उनले भने । समुदायमा निगरानीका लागि सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको कडायतले उल्लेख गरे ।
उनले थपे, ‘सहरी क्षेत्रमा सीसी क्यामेराबाट समेत निगरानी गर्छौँ भने आवश्यकताअनुसार हामी ड्रोनबाट पनि निगरानी गर्छौँ।”

उनका अनुसार विशेष सुरक्षा योजनाअन्तर्गत सबै गरी ५० हजार ५३० प्रहरी समेटिएका छन् ।
देशभरि सवारीसाधन आवागमन हेर्न २७४ वटा अतिरिक्त पोस्ट, ३५७ वटा नागरिक सहायता कक्ष र सीमानाकामा ५० वटा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।

प्रहरीले देखेका चुनौती
विशेषतः चाडबाडका समयमा आफूहरूले दुई–तीनवटा चुनौती देखेको प्रहरी प्रवक्ता कडायतले बताए । “दशैँका बेला कृत्रिम अभाव सिर्जना अथवा कालोबजारी हुन सक्छ, यात्रु ठगिन सक्छन् र सवारी दुर्घटना हुन सक्ने सम्भावना रहन्छ,” उनले भने ।
सीमाक्षेत्रमा चाहिँ विस्फोटक पदार्थ र लागुऔषधको ओसारपसारलाई प्रहरीले चुनौतीको रूपमा देखेको उनले बताए । “अर्को कुरा हिजोअस्ति ृमलङ्गवा र धरानका घटनो का जस्ता क्रियाकलाप भए भने त्यो ठूलो थ्रेट हुन्छ भनेर हामीले त्यतातिर पनि सजगता अपनाएका छौँ,” प्रहरी प्रवक्ता कडायतले थपे।

नेपाल प्रहरी

सुरक्षाविद्‌ के भन्छन् ?
सुरक्षाविद्‍हरूका अनुसार शान्तिसुरक्षा कायम राख्ने दिशामा सरकारी संयन्त्रहरूबीच समन्वय महत्त्वपूर्ण हुने गर्छ । “जुन किसिमले जातीय, धार्मिक कुराहरू बढ्दै गएका छन् त्यसको नियन्त्रणमा सरकारको संलग्नता महत्त्वपूर्ण हुन्छ,” पूर्वप्रहरी नायब महानिरीक्षक हेमन्त मल्लले भने । नेपाल प्रहरीबाहेक सूचना सङ्कलन गर्ने अरू निकायका तर्फबाट पनि कमजोरीहरू भइरहेको उनको ठम्याइ छ ।
“जस्तो राष्ट्रिय अनुसन्धान विभाग भनौँ । कुनै पनि घटना हुन लागेको छ भने त्यसबारे पूर्वसूचना भयो भने क्षति कम गर्न सकिन्छ । त्यहाँ पनि कमजोरी भइरहेको छ कि,” मल्लले भने ।
पछिल्लो समय साम्प्रादायिक तनावको आगोमा घ्यु थप्ने काममा सामाजिक सञ्जालमा गरिने कतिपय पोस्टहरूको पनि भूमिका देखिने गरेको सुरक्षाविद्‌हरू बताउँछन् । “त्यसमा पनि कताकता सरकार चुकिरहेको देखिन्छ र त्यस्ता पोस्टहरूले तनाव बढाउने काम गरेका छन्,” पूर्वडीआईजी मल्लले थपे ।

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार