सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । बिहीवार सुरु भएको नेपाल र भारतबीच ऊर्जा सचिवस्तरीय संयुक्त बैठक विद्युत् प्रसारण र वितरण प्रणालीका विषयमा केन्द्रित भएको छ । सन् २०१४ मा दुई देशबीच ऊर्जा व्यापारसम्बन्धी सम्झौताका आधारमा गठन गरिएको संयन्त्र भएकाले त्यसकै सेरोफेरोमा छलफल भएको ऊर्जा मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले बताए । दुई दिनसम्म चल्ने बैठकमा ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइन र नयाँ प्रस्ताव गरिएको बुटवल–गोरखपुर प्रसारण लाइनबारे छलफल हुने छ । प्रत्येक छ महिनामा आयोजना गरिने बैठक यसपटक नेपालले आयोजना गर्नुपर्ने भए पनि कोरोनाभाइरस महामारीका कारण भर्चुअल माध्यमबाट छलफल अघि बढाइएको हो ।
प्राथमिकता बैठकमा दुई देशले स्वीकृत गरेको गुरुयोजनामा आधारित रहेर अध्ययन थालिएको लम्की–बरेली र इनरूवा–पूर्णिया ४०० किलोभोल्टको प्रसारण लाइनको विषयमा पनि छलफल भएको छ । ११ वटा प्रसारण लाइन र भविष्यमा बन्ने पूर्वाधारका विषयमा छलफल केन्द्रित हुनेछ । निर्माण गर्न बाँकी ४०० किलोभोल्टभन्दा कम क्षमताका प्रसारण लाइनका संरचनाहरूका विषयमा पनि दुई देशका अधिकारीबीच छलफल हुनेछ । त्यस्तै दुई देशका ग्रीड जोड्ने विषय र टनकपुरबाट ट्रान्सफर्मरको क्षमता पनि बढाउने विषयमा नेपालले प्रस्ताव राख्ने तयारी छ । यसअघि भारतमा बसेको बैठकमा नेपाल विद्युत् प्राधिकरण र भारतको प्रसारण लाइन हेर्ने कम्पनी पावर ग्रीड कम्पनीले ५०–५० प्रतिशत लगानी गरेर बुटवल–गोरखपुर प्रसारण लाइन बनाउन निकाय खडा गर्ने तय भएको थियो । छलफलमा दुई देशमा उत्पादन भएको विद्युत् खपतका लागि ’एक्सचेन्ज मार्केट’मा प्रवेशका लागि सरकारले सहमति दिइसकेको अवस्थामा उक्त विषयमा थप कुराकानी हुने बताइएको छ । “हामीले नेपाल विद्युत् प्राधिकरणलाई आधिकारिक निकाय तोकेका छौँ । भारतले पनि निकाय तोकेको छ । काम अघि बढाउनका लागि केही विषय व्याख्या गर्नुपर्ने देखिन्छ जसको छलफल यो बैठकमा हुनेछ’ अर्यालले भने ।
बिजुली बेच्ने नेपालको अवस्था विद्युत प्राधिकरणका अनुसार नेपाल अबको केही समयमा ऊर्जा निर्यात गर्ने स्थितिमा पुग्दैछ । प्राधिकरणको वितरण प्रणालीमा हाल करिब १ हजार ३६२ मेगावाट विद्युत रहेको बताइएको छ । त्यसमा ५३ मेगावाटको डिजेल प्लान्ट भने हाल सञ्चालनमा छैन । नेपालमा उत्पादन हुने विद्युत्मध्ये निजी क्षेत्रले निर्माण गरेका आयोजनाहरूसँग करिब ७२६ मेगावाट उत्पादन गर्ने क्षमता रहेको बताइएको छ । ‘निजी क्षेत्रले निर्माण गरेका परियोजना नदीको बहाव अर्थात् ’रन अफ द रिभर’ भएकाले हिउँदमा क्षमता घट्छ । त्यसकारण अहिले उनीहरूको उत्पादन ३८० मेगावाटमा झरिसकेको होला’ प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले भने । नेपालमा माग उच्च हुने साँझको समय करिब १ हजार २८० मेगावाट विद्युत् खपत हुन्छ भने रातको बेला त्यो घटेर करिब ७०० को हाराहारीमा रहने अधिकारीहरू बताउँछन् । नेपालले हाल ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन मार्फत भारतबाट करिब ३५० मेगावाट विद्युत् आपूर्ति गरिरहेको छ ।
निर्यातको सम्भावना के ? नेपालमा हालको अवस्थामा भारतबाट ऊर्जा आयात गर्नुपर्ने देखिँदैन । निर्यात गर्न सकिन्छ कि भन्ने कुरामा छलफल भइरहेको छ । ‘पावर एक्सचेन्ज’ अन्तर्गत आयात र निर्यात दुवै गर्न सकिने छ ।