दूध बिक्री रोकिंदा आर्थिक रूपमा ठूलो क्षति 

कृषिमा कोराना कहर 
बिहीबार, वैशाख ३०, २०७८

राँझा । दूध बिक्री हुन नसक्दा बाँकेमा दुग्ध व्यवसायी किसान निरास बनेका छन् । बढ्दो कोरोना सङ्क्रमण रोकथामका लागि तीन हप्तादेखि जारी निषेधाज्ञाका कारण दूधको बिक्री वितरण कम हुँदै गएपछि दुग्ध व्यवसाय प्रभावित बन्न पुगेको हो । दूध बिक्री गरेरै जीविकोपार्जन गर्दै आएका किसान मर्कामा परेका छन् । दुग्ध व्यवसायीहरूले किसानले उत्पादन गरेको दूधलाई खरीद गर्न कम गरेपछि किसानलाई पालेको गाई भैंसीलाई खुवाउने दाना किन्न पनि मुस्किल पर्न थालेको छ । आठ वटा भैसी पालेर दैनिक करीब ५० लितर दूध बिक्री गर्दै आएका जानकी गाउँपालिका¬५ बेलहरीका किसान रामसुरत यादवले दूध बिक्री नहुँदा ठूलो समस्या भएको बताए । दूधको अधिकतम् उत्पादन हुने यो समयमा दूध तथा दुग्ध पदार्थको कारोवार हुन नसक्दा किसान र सम्बद्ध व्यवसायी सम्भावित आर्थिक नोक्सानीको त्रासमा रहेका छन् । व्यापार हुने समयमा दूध बिक्री वितरण रोकिंदा किसानदेखि व्यवसायीले आर्थिक रूपमा ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आएको नेपालगञ्जस्थित मदर डेरी उद्योगका सञ्चालक प्रभातकुमार ठकुरी बताउँछन् । 
दैनिक ८०० लिटर दूध खपत गर्दै आएको सो डेरीमा बन्दाबन्दीले गर्दा अहिले जसोतसो २०० लिटर खपत हुने गरेको छ । ‘अरु बेला खोजेजति दूध पाइँदैन, यतिबेला दूधको उत्पादन बढी हुने भएकाले व्यापार गर्ने याम पनि हो’, उनले भने, ‘बन्दाबन्दीका कारण सम्पूर्ण होटल तथा पसल व्यवसाय बन्द हुँदा दूधको खपतनै छैन ।’ उनका अनुसार यतिबेला नियमित दूध लिने किसानलाई तालीका बनाएर आलोपालो प्रणालीमा दूध लिने गरिएको छ । किसानबाट खरीद गरेको दूधको खपत नभएका कारण प्रशोधन गरेर दूध फ्याँक्नु पर्ने बाध्यता रहेको छ । ‘अहिले धेरै उत्पादन हुने समयमा किसानको दूध खरीद नगरे उत्पादन कम हुने समयमा नपाइने डरले डेरी उद्योगहरूले किसानसँग पालो गरेर दूध खरीद गर्ने गरेका छाँै’, उनले भने, ‘दूध बिक्री हुँदैन, पनीर पनि चल्दैन, किसानको भैसी बचाउनलाई भएपनि दूध खरीद गर्नुपर्ने बाध्यता रहेको छ ।’
दूध, तरकारी, फलफूल, खाद्यान्न, मासु तथा दानाको ओसापसारमा अवरोध नगर्न भनिए पनि बजारमा यस्ता वस्तुको आपूर्ति क्रममा व्यवधान हुने गरेको ठकुरीको भनाइ छ । ‘गाउँबाट किसानले दूध बिहान ल्याउँछन्, दिनभर प्रशोधन गरेर अपराह्न बजारमा दूध पठाउँदा प्रहरीले फर्काइदिने गरेको छ’, ठकुरीले भने । 
अहिले करीब ५० प्रतिशत बिक्री घटेको छ । बाँकेमा धेरै दूध सङ्कलन गर्ने खजुरा गाउँपालिकास्थित जनता दुग्ध उत्पादक सहकारीले चार केन्द्रमार्फत दूध खरीद गर्ने गरेकामा अहिले बेलुकाको दूध सङ्कलन सबै बन्द गरेको छ । सहकारीले एक दिन बिराएर बिहान दूध सङ्कलन गरिरहेको व्यवस्थापक गौरव सापकोटाले जानकारी दिए ।
उनका अनुसार जनता दुग्ध सहकारीमा मात्र दैनिक १२ सय लिटर किसानको दूध सङ्कलन हुन सकेको छैन । त्यसको प्रत्यक्ष घाटा किसानले सहनुपर्ने भएको छ । दैनिक १७ सय लिटर सङ्कलन गर्ने जनता दुग्ध सहकारीले हाल मुस्किलले ३५० लिटर दूध किसानसँग खरीद गर्ने गरेको छ । दूध बिक्री हुनै छाडेपछि सङ्कलन गर्न कमी गरेको उनको भनाइ छ ।  
निषेधाज्ञाको शुरुका केही दिनसम्म त पुरै दूध सङ्कलन गरी सहकारी सस्थाले छ क्विन्टल पनिर, एक सय किलो घ्यू, छुर्पीलगायत परिकार बनाएर समेत राखेको छ । बिक्री वितरण नभएपछि दूध खरीदलाई घटाउनु परेको सापकोटाले बताए । 
जिल्ला दुग्ध व्यवसायी सङ्घ बाँकेका अध्यक्ष बदरुद्दिन अन्सारीले उत्पादन भएकोमध्ये करीब २० प्रतिशत दूध मात्र अहिले खपत भइरहेको जानकारी दिए । सामान्य अवस्थामा सङ्घअन्तर्गतका डेरीमार्फत दैनिक २० हजार लिटरभन्दा बढी दूधको खपत हुने गरेकामा अहिले निषेधाज्ञाको अवस्थामा मुश्किलले चार हजारदेखि पाँच हजार लिटरसम्म दूध खपत भइरहेको उनको भनाइ छ । 
निषेधाज्ञाकै कारण कोहलपुरस्थित दुग्ध विकास आयोजनाले अनिश्चित समयका लागि सहकारीबाट दूध खरीद नगर्ने निर्णय गरेपछि बाँकेमा उत्पादन भइरहेको दूध बिक्री गर्न थप समस्या भएको दुग्ध व्यवसायी सङ्घ बाँकेका अध्यक्ष अन्सारीले गुनासो गरे । 

बोटमै कुहिन थाल्यो गोलभेंडा
दाङका किसानले लगाएको गोलभेंडा नबिकेपछि बोटमै कुहिन थालेको छ । कोरोना महामारी तीब्र रूपमा बढेसँगै भएको बन्दाबन्दीले किसानले लगाएको गोलभेंडा बारीमा कुहिन थालेको छ । उत्पादित  गोलभेंडालाई बजारीकरण गर्ने व्यवस्था नहुँदा किसानले लाखौ नोक्सान भएको बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिका –१३ मा करीब ३० बिघा क्षेत्रफलमा गोलभेंडा खेती गरिएको भएपनि बजारीकरणमा समस्या हुँदा अहिले बोटमै कुहिने अवस्थामा रहेको स्थानीय किसान खुमानन्द अर्यालले बताए । ‘मैले आठ बिघा तीन कठ्ठा क्षेत्रफलमा गोलभेंडा खेती गरेको छु, अहिले बन्दाबन्दीको समयमा करीब २५० क्यारेट गोलभेंडा बिक्री नभएर कुहिने अवस्था छ’, उनले भने, ‘बजारीकरण नहुनुले ठूलो समस्या निम्त्यायो ।’  चिस्यान केन्द्रमा पनि राख्न नमिल्ने भएको र उत्पादित गोलभेंडा काठमाडौँ, चितवन, बुटवल, नेपालगञ्ज, धनगढीलगायतका क्षेत्रमा ढुवानी गर्न नसकिएकाले यस्तो समस्या आएको उनले बताए । ‘बोटबाटै रु ३५÷४० किलोमा बिक्री गर्नुपर्ने हो’, उनले भने, ‘तर, नबिकेपछि नष्ट गर्नलाई उल्टो रु ३०÷४०  लगानी लगाउनुपर्ने अवस्था देखिएको छ ।’ उनका अनुसार काठमाडौं पठाउँदा प्रतिकिलोको १० रुपैयाँ र नारायणघाट पठाउँदा प्रतिकिलोको सात रुपैयाँ भाडा नै लाग्ने गर्छ भने ३०÷३५ जना काम गर्ने कामदारलाई ज्याला दिनु पर्ने हुन्छ । 
सरकारले बजारीकरणमा सहज बनाएमा किसानको लगानी खेर नजाने युवा कृषक शिशिर रावतले बताए । रावतले त्यहाँ १० कठ्ठामा गोलभेंडा खेती गरेका छन् । ‘पहिलोपटक फल लागेको गोलभेंडा अनिवार्य टिप्नु नै पर्छ, यदि यो पटक नटिपेमा अर्को पटक फल लाग्दा समस्या हुन्छ’, उनले भने, ‘त्यसैले जसरी पनि टिप्नै पर्छ, तर, बिक्री गर्नलाई बजारीकरण छैन, हामीले किलोको रु दुईदेखि पाँचसम्म बिक्री गर्ने गरेका छौं ।’   त्यहाँका किसानहरूले बिघाको वार्षिक रु ५० हजार जग्गा भाडामा लिएर खेती गरिरहेका छन् । यसका लागि बजारीकरण गर्न ढुवानीका लागि पहल लिनुपर्ने बताए । जिल्लाका हरेक किसानहरूले लगाएको गोलभेंडा अहिले बोटमै कुहिने अवस्थामा रहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  १०:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार