जीवित देवी कुमारीको रथयात्रा राष्ट्रपति, उपराष्ट्रपतिलगायतले गरे अवलोकन 

शुक्रबार, असोज १२, २०८०

काठमाडौं । इन्द्रजात्रा पर्वअन्तर्गत आज जीवित देवी कुमारीको रथारोहन गरिएको छ। बसन्तपुर जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत मन्त्री, सांसद, प्रदेशसभा सदस्य, काठमाडौं महानगरका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल गद्दी बैठकसम्म गएका थिए । उनीहरुले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन गरेका थिए।
जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए । 
इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद्ध सालिकबाट पैदल गएको भने यो पहिलोपटक हो । यसअघिका राष्ट्रपति र राजा गद्द बैठकअघिसम्म नै गाडीमा जाने गरेका थिए । 
इन्द्रजात्रा अवलोकन गर्न ठुलो भिड लागेको थियो ।  जात्रा हेर्न विदेशी पर्यटकहरु पनि बसन्तपुर पुगेका थिए । 
असोज १५ गते महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाउने प्रचलन छ । यसै दिन बेलुका राष्ट्रपति पौडेल हनुमानढोका पुगेर टीकाप्रसाद ग्रहणपछि कुमारीसँग खड्ग साट्ने परम्परासमेत रहि आएको छ ।
असोज १५ गते सोमबार राति ८ः३७ बजे इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त गरिनेछ । पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित बागमती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ ।इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ११:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार