हेडसरको बारी, केराको घारी

मंगलबार, असोज ९, २०८०

रामेछाप । खाँडादेवी गाउँपालिकाका रामबहादुर श्रेष्ठ पेसाले शिक्षक हुन् । उनले प्रगतिशील माध्यमिक विद्यालय भीरपानीको प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहेका छन् । विद्यालयमा पठन पाठनमा ध्यान दिएर मात्र पुग्दैन, प्रशासनिक काम पनि गर्नुपर्छ । ती सबै काम गरेपछि बचेको समयलाई श्रेष्ठले कृषि कर्ममा लगाएका छन् । 

त्यसैले ‘रामबहादुर सर’ को परिचय अब हेडसरमा मात्र सीमित रहेन । उनी व्यावसायिक कृषकका रूपमा पनि स्थापित भएका छन् । व्यावसायिक केरा खेती गर्ने हेडसरको बारी अहिले केराको घारी भएको छ । 

श्रेष्ठले खाँडादेवी गाउँपालिका–३ स्थित आफ्नो जग्गामा व्यावसायिक रूपमा केरा खेती लगाएका छन् । करिब सात रोपनी जमिनमा स्थानीय जातको केरा लगाएको श्रेष्ठले बताए । 

रोग, किरा कम लाग्ने भएकोले स्थानीय जातको केरा लगाएको उनले जानकारी दिए । ‘सात रोपनी जमिनमा ५ सय बोट जति स्थानीय जानको केरा छ, मर्चमने, झप्री लगायतका जातका केरा छन्’, श्रेष्ठले भने । 

यसअघि पनि उनको बारीका कान्लामा अलिअलि केराका बोट थिए । तर गत वर्ष घर माथि पहिरो चल्ने जस्तो भएपछि उनले जग्गा सम्याए र पूरै बारीमा केरा लगाए । ‘डोजर लगाएर जग्गा सम्याएँ, अलिअलि केराका बिरुवा किनेँ, करिब ७०÷७५ हजार रुपैँया खर्च भयो, अहिले केराको घारी भएको छ’, उनले भने । 

श्रेष्ठले केरामात्र लगाएका छैनन् । केरा बारीमै घुसुवा बालीको रूपमा भूइँकटहर पनि लगाएका छन् । ‘यसपालि ३ सय बोट जति भूइँकटहर पनि लगाएको छु, अर्को वर्षबाट फल्छ’, उनले भने । 

श्रेष्ठले लगाएको केरा अहिले २५ घरी जति पसाएको छ । ‘घरीको २ हजार आउँदा पनि यसैपटक ५० हजारको केरा फल्छ, अब यो निरन्तर पसाइरहन्छ, त्यसैले पनि आम्दानी पनि निरन्तर हुन्छ, वर्षका एक लाख रुपैयाँ सजिलै आम्दानी हुन्छ’, उनले भने । 

अर्को वर्षबाट भूइँकटहर पनि फल्ने र केरा पनि झाँगिने हुँदा आम्दानी पनि बढ्ने उनको विश्वास छ । कृषिबाट राम्रो आम्दानी हुने बताउँदै कुरा मात्र होइन काम नै गरेर देखाउन आफूले केरा खेती लगाएको श्रेष्ठ बताउँछन् । 

आफूले लगाएको देखेर छिमेकीहरूले पनि धेरथोर केरा खेती लगाउन लागेका उनले बताए । ‘उहाँहरूले पनि लगाउनुभएको छ, केरा बेचेरै घर खर्च चलाउने हुनुभएको छ’, उनले भने । 

स्थानीय सरकारले कृषिलाई प्राथमिकता दिने नारा ल्याएको बताउँदै श्रेष्ठले त्यसलाई व्यवहारमा पनि उतार्न आग्रह गरे । किसानलाई बिरुवा, औषधि, मल लगायतमा अनुदान दिने हो भने यसमा लाग्न किसान प्रोत्साहित हुने उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १२:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार