स्याउ उत्पादनमा कमी आएपछि मुगुका किसानलाई समस्या

सोमबार, असोज ८, २०८०

मुगु । स्याउ उत्पादनमा कमी आएपछि यसपालि मुगुका किसान चिन्तित भएका छन् । विगतमा राम्रो उत्पादन भएपनि यसपटक उत्पादनमा ह्रास आएपछि किसान चिन्तित बनेका हुन् ।
हिमाली जिल्ला मुगुमा राष्ट्रिय सडक सञ्जाल जोडिएपछि स्याउ पकेट क्षेत्र मानिएका ताल्चा, पिना, रोवा, शोभा, बाम, सोरुकोट, खमाले, लमेरा, सेरी, जाम क्षेत्रका बासिन्दाको आम्दानीको मुख्य स्रोत स्याउ बन्दै आएको थियो ।
बैशाख, जेठ महिनामा स्याउका बिरुवामा फूल फुल्ने समयमा असिना–पानी परेकाले उत्पादन प्रभावित भएको हो ।
स्थानीय किसान हेमराज भामले गर्न वर्ष उत्पादन निकै राम्रो भएको बताउँदै आफूले १ लाख ५० हजार रुपैयाँको स्याउ बिक्री गरेका थिए । यो बर्ष उत्पादन कमी हुँदा २० हजार रुपैयाँ मात्र आम्दानी हुने भएको उनले बताए । आम्दानी घटेपछि समस्या हुने भएको उनको भनाइ छ ।


समयमा पानी नपरेको साथै स्याउको फूल फुल्ने समयमा असिना पानीले नोक्सानी गरेकाले गत वर्षभन्दा उत्पादनमा निकै कमी आएको अर्का कृषक मणिचन्द्र भामले बताए । गर्त वर्ष २ लाख आम्दानी गर्ने कतिपय कृषकहरुले अहिले १ लाख पनि आम्दानी गर्न गाह्रो भएको छ ।
पहिले परम्परा रुपमा आलु, कोदो, जौ खेतीबाट राम्रो आम्दानी नहुने भएपछि किसानले दशकयता स्याउ खेती गर्न थालेका हुन् । कतिपय किसानले स्याउ बिक्रीबाट ७ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका थिए ।
यसपालि उत्पादन भएको स्याउ पनि उच्च गुणस्तरको नभएकाले बजार प्रभावित भएको किसान हरिबहादुर रोकायाले बताए ।


मुगु जिल्लामा गत वर्ष ११.३ हेक्टरमा स्याउ उत्पादन भएको थियो । यो वर्ष ९.५ हेक्टर स्याउ उत्पादन भएको छ । 
गत वर्षको तथ्यांकअनुसार ३ सय २१ मेट्रिकटन स्याउ मुगुबाट निर्यात भएको थियो । प्रतिकिलो ३५ रुपैयाँका दरले १ करोड १२ हजारभन्दा बढी रुपैयाँ  स्याउबाट जिल्लामा भित्रिएको थियो ।
यस वर्ष हालसम्मको तथ्यांकअनुसार स्याउ निर्यातबाट २९ लाख ६० हजार आम्दानी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइका प्रमुख तेजबिक्रम मल्लले बताए । 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ०८:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार