पत्रकारलाई स्वार्थ समूहले उपयोग गर्ने खतरा : बागमती प्रदेशका आन्तरिक मामिला मन्त्री

शनिबार, भदौ १६, २०८०

काठमाडौं । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा श्रेष्ठले पत्रकारलाई स्वार्थ समूहले उपयोग गर्ने खतरा भएको टिप्पणी गरेका छन् ।  बागमती सञ्चार रजिष्टार कार्यालयले तयार पारेको विधागत पत्रकारिता नामक हाते पुस्तक सार्वजनिक कार्यक्रममा उनले भने, ‘विद्यागत पत्रकारितामा केन्द्रित हुने पत्रकारलाई स्वार्थ समूहहरूले उपयोग गरिदिने खतरा पनि हुन सक्छ । त्यस्तो अवस्थामा आफूलाई जोगाउने चुनौती र जिम्मेवार स्वयं पत्रकार कै हुन्छ ।’
उनले सरकारी संयन्त्रमा बसेर सिर्जनात्मक काम गर्न कठिन रहेको अनुभव साटे । 
तर पनि, आफूहरुले राम्रो कामलाई प्रोत्साहन गर्न नछोडेको भन्दै उनले प्रशासनिक झन्झट हटाउन कोसिस भइरहेको बताए । 
उनले भने, ‘बागमती प्रदेश सरकार श्रृजनात्मक उत्पादनजन्य कामलाई प्रोत्साहित गर्दछ । सरकारी संरचनाभित्र बसेर सिर्जनात्मक काम गर्न पटक्कै सजिलो छैन । बाहिर बसेर हेर्दा सजिलो भएपनि । बिभिन्न प्रशासनिक झन्झट निम्त्याउँने कानुनहरू छन् । कानुन रातारात परिवर्तन गर्न त सकिँदैन तर सेवाग्राहीको सहजताको उपाय खोज्नेगरी कानुनहरूमा संसोधन र परिमार्जन गर्दै अगाडि बढिरहेका छौं ।
सञ्चार रजिष्टार रेवती पौडेलले अहिले विभिन्न १९ वटा विधा समेटेर पुस्तक लेखिएको भन्दै यो पत्रकारिताबारे जानकारी राख्न चाहनेका लागि उपयोगी बन्न सक्ने धारणा राखे । ‘पत्रकारिताको बिट विषयमा गाईड गर्ने खालको सामग्री भइदियो भने त्यसले पत्रकारहरूलाई बिटमा काम गर्न सजिलो हुन्छ भन्ने उद्देश्यका साथ यो किताबको परिकल्पना गरिएको हो । पुस्तक हेर्दा यतिमात्र विषय छैन अरु विषय खै भन्ने टिप्पणी आउँन सक्छ’, उनले भने । 
त्यस्तै उनले धेरै विषय समेट्ने चाहाना भएपनि विशेष कारणले छुटेको टिप्पणी गरे । उनले भने, ‘सम्बन्धित व्यक्तिलाई लेख्न दिँदा हुन्छ भनेर समय मिलेन भनेपछि छुटेको हो । छुटेका विषय आगामी दिनमा पूरा गर्दै जाने हो । १९ वटा विषयबस्तु अहिले पुस्तकमा लेखिएको छ ।  नेपालमा पहिलो पटक बीट पत्रकारिताको गाईड किताबको रुपमा तयार भयो त्यसैले त प्रश्न जन्मिएका छन् । एउटै पुस्तकले सबै पूर्ण हुँदैन । पत्रकारिता पढिरहेको विद्यार्थीहरू, पत्रकारितामा आउन खोज्ने र पत्रकारिताको अभ्यास गरिरहेकाहरूका लागि यो पुस्तक उपयोगी हुन्छ ।’
कार्यक्रममा पत्रकारिताका क्षेत्रका विज्ञहरूले यो पुस्तकको आवश्यकता र महत्वबारे धारणा राखेका थिए । 
पुस्तकमा नेपाली पत्रकारिता क्षेत्रका हस्तिहरू, रामकृष्ण रेग्मी, ध्रुवहरी अधिकारी, विनोद ढुङ्गेल, श्रीराम पौडेललगायतले विभिन्न विधाबारे लेखेका छन् । 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  ०६:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार