करेन्ट लागेर चार जनाको मृत्यु

बिहीबार, भदौ १४, २०८०

काठमाडौं । चितवन, कैलाली, ललितपुर र पश्चिम नवलपरासीमा छुट्टाछट्टै स्थानमा करेन्ट लागेर चार जनाको ज्यान गएको छ । बिहीबार बिहान पश्चिम नवलपरासी, रामग्राम नगरपालिका–१५ घिनहा बस्ने ४० वर्षीय रफिल अन्सारीको करेन्ट लागेर मृत्यु भएको छ । सोही नगरपालिका–१८ पम्पापुरस्थित आईसक्रिम फ्याक्ट्रीमा पानी तान्ने चापाकलमा जडान भएको मोटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै बुधबार छुट्टाछट्टै तीन स्थानमा करेन्ट लागेर अन्य तीन जनाको ज्यान गएको छ ।
चितवन, रत्ननगर नगरपालिका–१५ माधवपुर अन्नपूर्ण टोलस्थित निर्माणाधीन घरमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका–१५ बस्ने १८ वर्षीय ओमबहादुर गुरूङको बुधबार दिउँसो मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर अस्पतालमा थप उपचारका क्रममा मृत्यु भएको हो ।
कैलाली, गोदावरी नगरपालिका–५ गेटी बस्ने २७ वर्षीय सुरेश चौधरीको पनि हिजो दिउँसो करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागि गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । यता ललितपुर महानगरपालिका–४ धोबिघाटस्थित निर्माणाधीन घरको इनारबाट पानी तान्ने मोटर निकाल्ने क्रममा करेन्ट लागेर सोही ठाउँ बस्ने कैलाली टिकापुर नगरपालिका–२ घर भएका २७ वर्षीय धिरज शाहको बुधबार दिउँसो मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको सुमेरू सिटी अस्पताल पुल्चोकमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उक्त घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  २०:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार