आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनौटमा नेपालको पहिलो जित

बिहीबार, भदौ १४, २०८०

 काठमाडौं । मलेसियामा जारी आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा नेपालले मलेसियामाथि पाँच रनको रोमाञ्चक जीत हात पारेको छ ।  घरेलु टोली मलेसियालाई पराजित गर्दै नेपालले प्रतियोगितामा सुखद सुरुआत गरेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना पनि बनेको छ । नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रनमा समेटियो ।
मलेसियाका लागि कप्तान विनिफर्ड दुराइसिङ्गमले ३९ बलको मामना गर्दै सर्वाधिक २८ रन बनाइन् । ओपनर एना हमिजा हसिमले २२ बलमा १४ र  मास इलिसाले १४ बलमा १० रन बनाइन् ।
नेपालका लागि बलिङतर्फ भने कविता कुवँर र कविता जोशीले समान दुई-दुई विकेट लिदा कप्तान रुविना क्षेत्री र अस्मिना कर्माचार्यले एक-एक विकेट लिए ।
बायोमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रन बनाएको थियो । 
नेपालका लागि सीता रानामगरले ५४ बलको सामना गरेर सर्वाधिक ३८ रनमा अविजित रहिन् । सुरुवाती तीन बलमै तीन विकेट गुमाउँदै निकै खराब सुरुवात गरेको अवस्थाबाट सीताले परिपक्व प्रदर्शन गर्दै नेपालको साख जोगाएकी हुन् । छैटौं विकेटका लागि सीता र अप्सरी बेगमले ५१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । 
मलेसियाकी ऐना हामिजा ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर दुई विकेट लिइन् । महिराह इजाती, ऐश्या एलिसा र निक नुरले एक एक विकेट लिए । नेपालले दोस्रो खेल शुक्रबार बहराइनसँग खेल्नेछ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार