पाकिस्तानसंग नेपालको २ सय ३८ रनको लज्जास्पद हार

नेपालको ओडिआई इतिहासकै खराब हार
बुधबार, भदौ १३, २०८०


काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाली खेलाडीको प्रदर्शन पाकिस्तान खेलाडी सामू दयानिय रह्यो । बलिङ र ब्याटिङ दुबै नचल्दा नेपाली क्रिकेटर पाकिस्तानी क्रिकेटर सामु निरीह बन्न विवश भए । एसिया कपको उद्घाटन खेलमा खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ ।
घरेलु टोली पाकिस्तानले दिएको ३४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर केबल १०४ रन मात्रै बनाउन सक्यो ।
यो नेपालको ओडिआई इतिहासको सबैभन्दा खराब हार हो ।

babar-azam-nepal1693402067.jpg
जितको लागि ३ सय ४३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल २३.३ ओभरमा १ सय ४ रनमा अल आउट भयो । नेपालका सोमपाल कामीले ४६ बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाए । सोमपाल हरिस रौफलको बलमा एज लागेर विकेटकिपर मोहम्मद रिजवानबाट उत्कृष्ट क्याच आउटको शिकार हुन पुगे ।
चौथो विकेटका लागि आरिफ शेख र सोमपाल कामीले ७८ बलमा ५९ रनको साझेदारी गरेका थिए । हरिस रौफको बलमा आरिफ क्लिन बोल्ड आउट भए । आरिफले ३८ बलमा ५ चौकासहित २६ रन बनाए । सोमपाल र आरिफ बाहेक अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालको यो ओडिआईमा रनको हिसाबमा सबैभन्दा ठूलो फराकिलो अन्तरको हार हो । यसअघि वेस्टइन्डिजविरुद्ध १ सय १ रनले हार्न पुगेको थियो ।
पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पहिलो ओभरमै दुई विकेट लिएका थिए । नेपालका ओपनर कुशल भुर्तेलले शाहिन शाह अफ्रिदीलाई सुरुवाती दुई बलमा चौका प्रहार गर्दै सुरुवात गरेका थिए । तर लेग साइडको पाँचौं बलमा एज लागेर विकेटकिपर मोहम्मद रिजवानबाट ९ रनमा क्याच आउट भए ।
लगत्तै अर्को बलमा रोहित पौडेल गोल्डेन डक आउट भए । नसिम शाहको दोस्रो ओभरको चौथो बलमा आसिफ शेख एज लागेर स्लिपमा इफ्तिखर अहमदबाट पाँच रनमा क्याच आउट भए ।

Shaheen-Shah-Afridi1693404624.jpg
नेपालका गुलशन झा १३, दीपेन्द्रसिंह ऐरी ३, कुशल मल्ल ६, सन्दीप लामिछाने र ललित डक आउट भए । करण ७ रनमा नट आउट रहे ।
पाकिस्तानका शादब खानले ६।४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । शाहिन शाह अफ्रिदीले ५ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । हरिस रौफले दुई, नसिम शाह र मोहम्मद नवाजले एक एक विकेट लिए ।
त्यसअघि मुल्तान क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनाएको थियो । यो नेपालविरुद्ध कुनैपनि टोलीले ओडिआईमा बनाएको उच्च योगफल हो । दुई महिना अघि वेस्टइन्डिजले विश्वकप छनोटमा बनाएको ३ सय ३९ रन यसअघि उच्च थियो ।
पाकिस्तानका कप्तान बाबर आजमले १ सय ३१ बलमा १४ चौका र ४ छक्कासहित १ सय ५१ रनको सानदार शतकीय इनिङ खेले । विश्व ओडिआई वरियताका बाबरले ब्यक्तिगत ५५ रनमा जीवनदान पाएका थिए । त्यसको भरपूर्ण सदुपयोग गरे ।
बाबरको ओडिआईमा उच्च प्रदर्शन २०२१ मा इंग्ल्यान्डविरुद्ध १ सय ५८ रनको शतकीय इनिङ थियो । बाबर ब्यक्तिगत ५५ रनमा जीवनदान पाएका थिए । २९ औं ओभरको पाँचौं बलमा बाबरलाई करणले कट एण्ड बोल्ड आउट गर्ने अवसर चुकाएका थिए ।

babar1693403192.jpg
फिनिसर इफ्तिखार अहमद ७१ बलमा ११ चौका र ४ छक्कासहित १ सय ९ रनमा अविजित इनिङ खेले । इफ्तिखार अहमदले ६७ बलमा आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हाने । पाँचौं विकेटका लागि अहमद र बाबरले १ सय ३१ बलमा २ सय १४ रनको सानदार दोहोरो शतकीय साझेदारी गरपछि कमजोर सुरुवातका बाबजुद विशाल योगफल बनाएको थियो ।
एक समय ६.१ ओभरमा २५–२ को अवस्थामा पुगेको पाकिस्तानलाई तेस्रो विकेटका लागि रिजवान र बाबरले ८६ रनको साझेदारी गरेका थिए । विकेटकिपर मोहम्मद रिजवान २४ औं ओभरको चौथो बलमा ५० बलमा ६ चौकासहित ४४ रनमा रन आउट भए । दीपेन्द्रको डाइरेक्ट थ्रो बलमा रिजवान नन स्टाइकमा अप्रत्याशित रुपमा रन आउट हुँदै पेभेलिएन फर्केका थिए ।
नेपालले सुरुवात राम्रो गरेपनि त्यसलाई निरन्तरता दिन सकेन । तीव्र गतिका बलर करण केसीले छैटौं ओभरको तेस्रो बलमा ओपनर फखार जमानलाई विकेटकिपर आसिफ शेखबाट १४ रनमा क्याच गराएका थिए । सातौं ओभरको पहिलो बलमा रोहित पौडेलले डाइरेक्ट थ्रोमा अर्का ओपनर इमाम उल हकलाई ५ रनमा रन आउट गरेका थिए ।
नेपालका सन्दीप लामिछानेले १० ओभरमा ६९ रन खर्चेर १ विकेट लिए । करण केसीले ९ ओभरमा ५४ रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले १० ओभरमा १ मेडनसहित ८५ रन खर्चेर २ विकेट लिए । सोमपाल नेपालबाट एकै ओडिआई खेलमा सर्वाधिक रन खर्चिने बलर बनेका छन् । यसअघि सोमपाल र करणले समान ८१ रन खर्चिएका थिए ।
नेपालले अन्तिम १० ओभरमा १ सय २९ रन खर्चिदा २ विकेट लिएको थियो । डेथ ओभरमा पुन एक पटक खराब प्रदर्शन गर्न पुग्यो । नेपालले भदौं १८ मा भारतसँग खेल्नेछ । सुपर फोरमा स्थान बनाउन उक्त खेलमा जितसँगै अन्य नतिजामा निर्भर हुनुपर्छ ।

 

 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  २१:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार