ठेकेदारले समयमै काम नगर्दा डोल्पाकाे सालदाङमा चामल अभाव

आइतबार, वैशाख २६, २०७८

जाजरकोट । शे–फोक्सुन्डो गाउँपालिकाको केन्द्र साल्दाङ डोल्पामा गत वर्ष मङ्सिरमा ठेक्का लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल अहिलेसम्म पुगेको छैन । ठेक्का सम्झौता भएको छ महिना पूरा भइसक्दा पनि उपल्लो डोल्पामा चामल नपुगेपछि खाद्यान्न अभावको समस्या भोगिरहेको स्थानीयवासीले बताएका छन् ।  कम्पनीले गत वर्ष साल्दाङका लागि एक हजार ५०० क्विन्टल चामलको कोटा निर्धारण गरेको थियो । खाद्यान्न ढुवानीको ठेक्का लिएको बाँकेको दिनेश ढुवानी सेवाको ढिलासुस्तीले साल्दाङमा ६०० क्विन्टल खाद्यान्न मात्र पुगेको छ ।  उक्त सेवाले छार्काताङसोङ, डोल्पोबुद्ध र शे–फोक्सुन्डो गाउँपालिकामा चामल ढुवानीको ठेक्का लिएको थियो। दुई स्थानीय तहको चामल पुगेपनि साल्दाङमा भने अहिलेसम्म पुगेको छैन । गत वर्षकै ठेक्काबाट छार्काताङसोङको ढारगाउँमा ७०० क्विन्टल र डोल्पोबुद्धको धोमा ८७५ क्विन्टल चामल पुगेर वितरण भइसकेको लिमिटेडले जनाएको छ । चिसो र हिमपातका कारण कम्पनीको चामल पु¥याउन केही समय ढिला भएको लिमिटेडका शाखा प्रमुख कमलराज पाण्डेले बताए । ‘चामल दुनै आएर थन्किएको छ ,ढुवानी सेवालाई छिटो लिन आग्रह गरिएको छ’, उनले भने । 
केही चामल सुर्खेतबाट डोल्पा पुग्ने बाटोमा छ । माथिल्लो डोल्पामा अनुदानको चामल पुगेपछि स्थानीयवासीले सस्तो मूल्यमा चामल पाएका छन् । स्थानीयवासीलाई यसअघि प्रतिक्विन्टल २० हजार रुपैयाँ तिरेर बजारको चामल किन्नुपर्ने बाध्यता थियो । कम्पनीले प्रतिक्विन्टल जिरा  मसिनो चामल सात हजार र सोना चामल पाँच हजार ६०० रुपैयाँमा उपलब्ध गराइरहेको शाखा प्रमुख पाण्डेले बताए ।
कोटाअनुसार चामल नपुग्दा गाउँमा खाद्यान्न समस्या भएको शे–फोक्सुन्डो गाउँपालिकाका अध्यक्ष टसितुन्डुप गुरुङले बताउनुभयो । कोरोना महामारीका कारण चीनले नाका बन्द गरेपछि माथिल्लोे डोल्पामा दुई वर्षदेखि चामल पुग्न सकेको थिएन । विगतका वर्षमा चीन हुँदै चामल माथिल्लो डोल्पा पठाइन्थ्यो । यो वर्ष सुर्खेत–दुनै हुँदै चामल ढुवानी गरिएको थियो ।  खाद्यान्न उत्पादन कम हुने उपल्लो डोल्पा बाहिरबाट ल्याइएको खाद्यान्नमा निर्भर हुनुपर्दछ । केही हुने खानेले दुनैमा आएर खच्चड,घोडा र चौँरीमा खाद्यान्न लैजाने गरे पनि अधिकांश निम्न वर्गका स्थानीयवासीहरू समस्यामा पर्ने गरेका छन् । सामानको मूल्यभन्दा ढुवानी खर्च महँगो हुने गर्छ ।  चिसो मौसममा तल्लो क्षेत्र झरेका सबै सर्वसाधारण अहिले उपल्लो डोल्पामा जाँदा खाद्यान्नको माग व्यापक बढेको हो । उपल्लो डोल्पामा खेतीपातीको मौसम भएकाले यहाँका सर्वसाधारण खाद्यान्न आपूर्तिका लागि गुहार लगाइरहेका छन् । खडेरीका कारण हिउँदेबाली उत्पादन नभएको यहाँ आयातित अन्नमा यो पटक धेरै भर पर्नुपरेको वडा नं ४ का तसी गुरुङले बताए ।  सिँचाइ सुविधा नभएको उपल्लो डोल्पामा हिमपात भएमा मात्र खेतीपाती गर्न सहज हुने गुरुङको भनाइ छ । आलु, उवा र फापर उपल्लो डोल्पामा उत्पादन हुने गर्दछ । उपल्लो डोल्पामा खाना पकाउने दाउराको समेत अभाव छ । 

कोटा बढाउन माग 

अहिले निर्धारण गरिएको खाद्यान्नको कोटाभन्दा दोब्बर कोटा बढाउन स्थानीयवासीले माग गरेका छन् । विकटता र जोखिम देखाएर तोकिएको ठाउँमा सामग्री नपु¥याई बाटोमै छाडी भाडा असुल्ने गरेको उपल्लो भोट क्षेत्रका सर्वसाधारणको गुनासो छ ।  तीन वर्षअघि आयोडिनयुक्त नुन तेन्जेमा छाडेर भाडा असुलेको नमिठो पीडा उपल्लो डोल्पालीसँग छ । पहुँचका भरमा ठेक्का लगाउने तर तोकिएको काम नगरी भुक्तानी लिने गरेको स्थानीयवासीको आरोप छ । खाद्यान्न उत्पादन नहुने ठाउँमा सरकारले विशेष व्यवस्था गर्नुपर्ने उनीहरूको भनाइ छ ।  खाद्यान्न विक्री केन्द्र नभई डिपो नै राखेर सङ्ख्या बढाउनुपर्ने उनीहरूले बताएका छन् । अहिले कर्मचारीको रोहवरमा सीमित मात्रामा चामल लिएर बिक्री गरी फर्कने गरिएको छ तर कार्यालय नै राखेर चामल आपूर्ति तथा वितरण गर्नुपर्ने उपल्लो डोल्पालीको माग छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  १४:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार