चेलीबेटीकै तस्करी

हाउसमेट हुन् कि वास्तविक वर्कर दूतावासले पनि छानविन गरोस्
शनिबार, असार ३०, २०८०

क्याम्ब्रीज डिक्सनेरीमा हाउसमेट (hausemate) को अर्थ यस्तो छ someone you live with in a house but are not related to and do not have a romantic or sexual relationship with .
अर्थ जेजस्तो भए पनि व्यवहारमा भने त्यस्तो छैन । हाउसमेटका रुपमा काम गर्न खाडी मूलुक पुगेर फर्केका केही महिला कामदार फर्कँदा अवैद्य गर्भधारण गरेर पनि आउने गरेको पाइएको छ । कतिपयले उतै बच्चा जन्माएर फर्केको अवस्था पनि यदाकदा सुन्नमा आइरहन्छ । त्यसो त हाउसमेटकै रुपमा काम गर्न गएका महिलाले यातना पाएका, पारिश्रमिक नपाएर शोषणमा परेका घट्ना त सामान्य जस्तै बनिसकेको अवस्था छ ।
यसै क्रममा हालै खाडी मुलुकमा काम गर्न हिँडेका थुप्रै महिलालाई शंकास्पद डकुमेन्ट भन्दै अध्यागमनले फिर्ता गरिदिएपछि यो विवाद सतहमै आएको छ । एउटा सरकारी निकाय (वैदेशिक रोजगार कार्यालय) ले दिएको श्रम स्वीकृतीप्रति अर्को सरकारी निकाय (अध्यागमन कार्यालय) ले जाँच गर्ने अधिकार छैन, त्यसरी फर्काइँदाको क्षतीपूर्ति उपलब्ध गराइनु पर्ने भन्दै आक्रोसित मेनपावर व्यवसायीले आन्दोलनमा उत्रने धम्की दिएका छन् । तर, उनीहरुले आफूहरुबाट भएका गल्ती-कमजोरी तर्फ फर्केर हेर्न चाहेका छैनन् ।
हाउसमेटकै रुपमा वैदेशिक रोजगारीमा महिला कामदार पठाउने कार्यविधि केही जटिल छ । कामदारको सुरक्षाको ग्यारेन्टी रोजगारदाताले लिनु पर्ने र त्यसका लागि तोकिएअनुसारको रकम रोजगारदाताले नेपाल एम्वेसीमा जम्मा नै गर्नु पर्ने र एम्वेसीमा उक्त कामदारको सुरक्षा ग्यारेन्टी गर्नु पर्ने भएकाले खाडी लगायत अन्यत्रबाट पनि रोजगारदाताले हाउसमेटकै लागि भनेर कामदार झिकाउन चाहान्नन्, तर जे-जसरी जे कामका लागि भनेर झिकाउने गरिए पनि अधिकांश महिला कामदारले गर्ने भनेको काम हाउसमेट अन्तर्गत नै हो ।
अझ कहाँ त्यतीमात्र हो र ? निस्सन्तान दम्पत्तिका लागि बच्चा जन्माइदिन पनि मेनपावर कम्पनीले महिला कामदार आपूर्ति गर्ने गरेका छन् । कतिपय महिलालाई मेनपावर सञ्चालकले बच्चा जन्माइदिनैका लागि मनाएरै पठाउने गरेको पनि स्रोतको दावी छ । यसरी बच्चा जन्माइदिन जाने महिला कामदारले दुई वर्षसम्म हाउसमेटका रुपमा गए पनि त्यहाँ पुगेर घरेलु कामदारकै भूमिका भने निर्वाह गर्नु पर्दैन । उनीहरुले घरमालिकलाई सन्तान दिएर फर्कनु पर्नेछ । त्यस्ता महिलाले यस्तो काम गरे वापत राम्रै आर्थिक लाभ पनि पाउने छन् । भविष्यमा बच्चा दावी गर्न वा अन्य कुनै कानूनी अधिकार खोज्न समेत खाडी मुलुकको कानूनअनुसार सजिलो नभएकाले रोजगारदाताले सुरक्षित र सजिलो उपाय मानेका छन् । यस कार्यका लागि पारिवारिक स्वीकृती नै मिल्ने भएकाले यताबाट जाने महिलाले कुनै हिंसा वा तनाव खेप्नु पर्ने हुन्न ।
खाडी मुलुकका मुसलमान समूदायले "सेरोगेसी" पद्धतीलाई धार्मीक रुपले पनि स्वीकार्न चाहान्नन् । उनीहरुमाथि बुहुविवाह प्रथा बाधक छैन । त्यसैले बच्चा जन्माउन इच्छा अनुसार विवाह गर्न रोकटोक हुन्न । तापनि वैवाहिक जिवनको सफलताका लागि पछिल्लो समय आफ्नो जिवन पार्टनरसँग पनि उनीहरु सहमती अनुसार चल्ने गर्छन । यसका लागि बच्चा जन्माउन स्वास्थ्यका दृष्टिले असक्षम महिलाले ‘साँप पनि नमर्ने लाठी पनि नभाँचिने’ आफ्ना लोग्नेलाई विवाह नै गर्ने सल्लाह दिनु भन्दा घरेलु कामदारका रुपमा महिलालाई भित्र्याएर आफ्नो लोग्नेको तर्फबाट बच्चा प्राप्त गरिदिनका लागि उक्त सम्वन्धलाई स्वीकार गर्न तयार हुन्छन्, साथै खुसी पनि ।
बस्, दुई वर्ष खाडीमा घरेलु कामदारका लागि गएकी महिला १० महिनामा बच्चा जन्माइदिएर त्यो बच्चा हुर्कीइसकेपछि त्यहाँबाट फिर्ता हुन्छीन् । यसै पनि ‘हाउसमेट’मा जान तयार महिला आर्थिकरुपमा कमजोर नै हुन्छन्, त्यसमाथि पनि कामै नगरी त्योभन्दा बढी सुविधा प्राप्त हुने भएपछि त्यसरी जाने महिला पनि खुसी नै हुन्छन् ।
स्रोतले गरेको दावी अनुसार यहाँनेर हाउसमेटका रुपमा बच्चा जन्माइदिने शर्तसहित जाने महिलाले भन्दा त्यो व्यवस्थापन मिलाइदिने मेनपावर कम्पनी वा दलालले मोटो रकम रोजगारदाताका तर्फबाट प्राप्त गर्ने गरेका हुन्छन् । त्यसरी एउटै महिला पठाउँदा दशौं कामदार पठाउँदा बराबरको आम्दानी हुने र पठाइएका महिलाबाट पनि कुनै गुनासो नआउने र भविष्यमा पनि समस्या नपर्ने ठम्याइँ मेनपावर सञ्चालक र दलालको हुने गर्छ । स्रोतका अनुसार बच्चा जन्माइदिन राजी हुने महिला मात्र त्यसरी पठाइने गरिन्छ । यतैबाट रोजगारदाताको इच्छाअनुसार नै युवती खोज्ने, उनीहरुलाई आकर्षक प्रलोभन देखाउने सबै काम मेनपावर सञ्चालक वा दलालबाट हुने गर्छ । यसरी पठाइएका महिलाबाट कुनै गुनासो कहीँकतै आउने नगरेको स्रोतले बतायो । अप्रेसन गरी बच्चा झिकिने भएकाले बच्चा जन्माइदिएको पनि कसैले चाल नपाउने भन्दै स्रोतले भन्यो, ‘कति अविवाहित महिला पेट चिरेको दाग लिएर बच्चा उतै छाडेर स्वदेश फर्कीने गरेका छन् । खाडीबाट फर्केकाहरुको शरिर बारे चासो राख्दा प्रष्ट हुन्छ ।’
नेपालका आधा दर्जन बढी मेनपावर कम्पनी यस्तो धन्दामा क्रियासिल रहेको स्रोतले बतायो । यस्तो धन्दामा क्रियासिल अधिकांश व्यवसायी ‘मेनपावर राजनीति’ गर्ने नेता समेत रहेका छन् । यसअघि दिल्ली, मुम्बई र चेन्नाईबाट हाउसमेटका रुपमा महिला कामदार ‘सप्लाई’ गर्ने गरिएकोमा हाल भारतका विमानस्थलमा पनि चेकजाँचका नाममा केही कडाइँ हुन थालेपछि मानवतस्करले हाउसमेटका रुपमा काम गर्न जाने महिलालाई पनि अन्य कामको वर्क परमिट झिकाउने गरेको पाइएको छ । हालै विमानस्थलस्थित अध्यागमन कार्यालयले फर्काइदिएका महिलाहरुको भिषा र उनीहरुले गर्नु पर्ने कामको प्रकृति उनै महिलाले बोकेको कागजताबाटै शंकास्पद देखिन्थ्यो ।
वैदेशिक रोजगारीका क्रममा खाडीबाट फर्केका केही महिलाको बारे सुक्ष्म अध्ययन गर्ने हो भने आफ्ना चेलीवेटीकै मानवतस्करी धन्दाबाट आर्थिकरुपमा सम्पन्न भएकाहरुको अनुहार उदांगो हुने थियो ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १०:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार