श्रमिकमार्फत साढे दुई अर्ब रुपैयाँबराबरको सुन तस्करी गराउने गिरोह पक्राउ

मंगलबार, असार २६, २०८०

काठमाडौँ । वैदेशिक रोजगारीबाट फर्केका श्रमिकमार्फत साढे दुई अर्ब रुपैयाँबराबरको सुन तस्करी गर्ने गिरोह १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनुषा, धनुषाधाम नगरपालिका–५ का ३४ वर्षीय नरेश पंजियार, सिराहा पर्टेवा नगरपालिका–१७ का २४ वर्षीय दिनेशकुमार यादव, बाँके राप्ती सोनारी गाउँपालिका–४ का ३६ वर्षीय भुमबहादुर वली, धनुषा मिथिला बिहारी नगरपालिका–५ का २५ वर्षीय सुनिल कुमार महरा, कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ का २३ वर्षीय सन्त गुलाम मुराव, सप्तरी बलान बिहुल गाउँपालिका–२ घरभई काठमाडौं–९ सिनामङ्गल बस्ने २८ वर्षीय विनोद कुमार साह र उनकी श्रीमती २५ वर्षीया सञ्जु कुमारी साह छन् ।

त्यस्तै, सप्तरी बोदेबर्साइन नगरपालिका–१ घरभई सिनामङ्गल बस्ने २७ वर्षीय देवनन्दन साह, सप्तरी बलान बिहुल गाउँपालिका–६ घरभई मध्यपुर थिमि बस्ने २२ वर्षीय दुर्गा प्रसाद यादव, सर्लाही हरीपुर नगरपालिका–३ घरभई काठमाडौं–२८ बागबजार बस्ने ५६ वर्षीय निमाई साह, सिराहा लहान नगरपालिका–४ का शिव सुन्दर राउत र मोहन कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
गैरकानुनी रूपमा भन्सार छली गरी कतारबाट सुन चोरी पैठारी गरी नेपाल ल्याई खरिदबिक्री गरिरहेको सुचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । कार्यालयका सूचना अधिकारी एसपी मिलन केसीका अनुसार उनीहरूलाई आइतबार नेपाल वायु सेवा निगमको आरए-२४० नम्बरको उडानबाट कतार हुँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंमा आउन लागेका नरेश पन्जियार, दिनेशकुमार यादव, भुमबहादुर ओली, सुनिलकुमार महरा, सन्त गुलाम मुरावलगायतका व्यक्तिहरूमार्फत भन्सार छली गरी सुन कतारबाट नेपाल पठाउन लागेको र विनोदकुमार साह, सन्जु कुमारी साह, दुर्गा प्रसाद यादव, देवनन्दन साह उक्त सुन रिसिभ गर्नेका लागि एयरपोर्टमा आउन लागेको सूचनाको आधारमा विमानस्थलको पार्किङबाट पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये सञ्जुले दिएको बयानमा कतारबाट भन्सार छली ल्याएको सुन काठमाडौं बागबजारस्थित निमाई साहले सञ्चालन गरेको सुर्पना ज्वेलर्समा बिक्री गर्ने गरेको खुलेको र उक्त ज्वेलर्सका सञ्चालक निमाई साहलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा विनोदकुमार साहले रितेश जनरल स्टोर्सका सञ्चालक शिव सुन्दर राउतको नाममा रहेका विभिन्न बैंकहरूमा रहेका खातामा १ करोड ६७ लाख ८९ हजार ९९९ रुपैयाँ पठाएको पाइएको छ भने, सञ्जुकुमारी साहले रितेश जेनेरल स्टोर्स कै नाममा रहेको विभिन्न बैंक खाताहरूमा २ करोड १ लाख १८ हजार ५००, मोहन कुमार यादवले सोही स्टोर्सको नाममा रहेका विभिन्न बैक खाताहरूमा ५ करोड १६ लाख १२ हजार, शिव सुन्दर राउतले मोहन कुमार यादवको नाममा रहेका विभिन्न बैंक खाताहरूमा १४ करोड ३९ लाख ७१ हजार ७० रुपैयाँ रकम पठाएको देखिएको छ ।

त्यसैगरी, शिव सुन्दर राउतले सञ्चालन गरेको रितेश जेनेरल स्टोर्सको कुल कारोबार १ अर्ब ९६ करोड, शिवसुन्दर राउतको कुल कारोबार १२ करोड ११ लाख ४२ हजार ४००, विनोद कुमार साहको कुल कारोबार ४१ करोड ५४ लाख ७६ हजार ८६९ देखिएको एसपी केसीले जानकारी दिए । उनीहरूले वैदेशिक रोजगारका लागि कतारमा रहेकाहरुलाई प्रलोभनमा पारेर सुन तस्करी गराइरहेको पाइएको छ ।

वैदेशिक रोजगारबाट फर्किन लागेकाहरूलाई विभिन्न प्रलोभनमा पारेर दैनिक १५ देखि २० जनालाई ५०र५० ग्रामको दरले सुन नेपाल पठाउने गरेको पाइएकोसमेत एसपी केसीले बताए । प्रहरीले निमाई साहले सञ्चालन गरेको सुर्पना ज्वेलर्सबाट ५४२ ग्राम सुन बरामद गरेको समेत जनाएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ०४:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार