आरजुको नाम लिएको अडियो जेलमा रहेका सन्देश शर्माको स्वरसँग मिल्यो

आइतबार, असार २४, २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवाको नाम लिइएको अडियो सन्देश शर्माको आवाजसँग मिलेको पाइएको छ ।

प्रहरी प्रधान कार्यालयले आवाज नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी सन्देश शर्माको भएको स्पष्ट पारेको हो । सन्देश शर्माको आवाज भएको निर्क्योल लागेपनि त्यो अडियो कहाँबाट र कसरी तयार भयो भन्ने सन्दर्भमा टिकटक सिंगापुरलाई पत्राचार भएको प्रहरीले जनाएको छ ।

सन्देश शर्माको आवाज रहेको त्यस भिडियोमा आरजुलाई पनि पैसा दिइएको व्यहोरा थियो । आरजुले भने त्यसको खन्डन गरेकी थिइन् । सन्देश हाल उक्त मुद्दामा पुर्पक्षका लागि थुनामा छन् ।

राणाले आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै  छानबिन गरी दोषीलाई कारबाही गर्न माग राखेर नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी छिन् ।

त्यही निवेदनमाथि अनुसन्धान गर्दा त्यो अडियो शर्माको आवाजसँग मिलेको र त्यो अडियो टिकटकमा कसले पहिलो पटक राखेको थियो भन्ने बारेमा टिकटक सिंगापुरसँग जानकारी मागेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिएका छन् ।

आरजुले केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त फेक अडियो बदनियत पूर्ण ढङ्गबाट बदनाम गराउने उद्देश्यले नियोजित रूपमा रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गरेकी थिइन्  । 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार