गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई जन्म कैदको फैसला

बुधबार, असार २०, २०८०

काठमाडौँ । गुण्डा नाइके समीरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला भएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बुधबार बस्नेतलाई जन्मकैदको फैसला सुनाएको हो ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न भएको आरोपमा उनलाई यसअघि नै दोषि रहेको ठहर गरेको थियो । सजाय निर्धारण बुधबार भएको हो ।
अदालतले उनीसहितका अभियुक्तहरुलाई दोषी ठहर गरेको छ । हत्याका मुख्य योजनाकार भनिएका बस्नेत र काले भन्ने अम्बरबहादुर रानालाई जन्मकैदको फैसला सुनाइएको छ । हत्या गर्नका लागि गोली हान्ने लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष कैदको फैसला भएको छ ।
समीरमानकी श्रीमती माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ ।
जिल्ला अदालतले १८ जनालाई दोषी ठहर र ६ जनालाई सफाइ दिएको छ।  निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको २०७४ असोज २३ गते काठमाडौंको प्रयागचोकमा गोली प्रहार गरी हत्या भएको थियो । हत्या अभियोगमा २४ जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको थियो । हत्याका मुख्य आरोपित बस्नेत २०७४ मंसिरमा पक्राउ परेका थिए । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले भारतबाट पक्राउ गरेर ल्याएको थियो । उनलाई अदालतले पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा राखेको छ ।
धनराज योङहाङ, श्यामबहादुर गुम्वी, रोशन बुढाथोकी र राजिव स्याङताङलाई जनही ५ वर्ष कैदको फैसला भएको छ । वशन्त थेवे र मनोज बुढा मगरको निधन भइसकेकाले दाबी खारेज गरिएको छ ।
यस्तै यही मुद्दाका प्रतिवादीहरु प्रकाश बुढाथोकी, सन्तोष गुरुङ, बिवजी महतो, सुर्यबहादुर बादी, राजकुमार साह, मुकेश कुमार पाण्डे र श्याम गुप्ताले सफाई पाएका छन् ।
यो मुद्दाका ७ प्रतिवादी भने अझै फरार छन् । गंगाप्रसाद लिम्बु, अजय थापा, समिकला राई, प्रवेश नायव, सुजा थक्सु बाजी, सुधिरकुमार साह र प्रदीपकुमार झा फरार छन्। उनीहरुको हकमा मुल्तवीमा राख्ने फैसला भएको छ ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १८:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार