ललिता निवास प्रकरणमा संगठित अपराधमा समेत अनुसन्धान गर्न अदालतको अनुमति

मंगलबार, असार १९, २०८०

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणका आरोपितविरुद्ध संगठित अपराधको कसुरमा समेत अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई यो घोटाला प्रकरणमा संलग्नविरुद्ध किर्तेका अलावा संगठित अपराधमा समेत अनुसन्धान गर्न अनुमति दिएको हो ।
गत साता ब्युरोले यो प्रकरणमा जोडिएका विरुद्ध मुलुकी ऐन २०२० को किर्तेसम्बन्धी महलमा अनुसन्धान गर्न अदालतबाट अनुमति पाएको थियो । त्यसयता ९ जना पक्राउ परिसकेका छन् ।
अदालतको यो अनुमतिसँग आरोपितहरूलाई कीर्ते र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न बाटो खुलेको छ । किर्तेमा २५ दिनभित्र अनुसन्धान टुंग्याएर मुद्दा अदालतमा पुर्‍याइसक्नुपर्छ । तर‚ संगठित अपराधमा अनुसन्धान गरी मुद्दा लैजान ६० दिनको समय उपलब्ध हुन्छ ।
अदालतले सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । ‘किर्ते र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न अदालतबाट ७ दिन म्याद थप भएको छ’‚ ब्युरोका एसएसपी दिनेश आचार्यले भने । यसअघि ब्युरोले किर्तेमा मात्र अनुसन्धान गर्न ७ दिनको अनुमति पाएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार