सकियो शरणार्थी प्रकरणमा अभियुक्ततर्फको बहस, भोलि थुनछेक आदेश आउने

बिहीबार, जेठ ३२, २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्ततर्फका वकिलको बहस सकिएको छ । अभियुक्ततर्फको बहस सकिएसँगै आजको बहसको क्रम पनि सकिएको छ । शुक्रबार सरकारी वकिलका तर्फबाट जवाफी बहस गर्दै अभियुक्त तर्फका वकिलले उठाएको कानुनी प्रश्नको जवाफ दिने छन् । 
जवाफी बहस जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले गर्ने  छन् । शुक्रबार दुई बजेसम्म जवाफी बहस गर्न दिएर भोलि नै अभियुक्तहरूलाई थुनामा पठाउने–नपठाउने आदेश हुने आँकलन गरिएको छ ।
जिल्ला अदालत काठमाडौंले शुक्रबार अपरान्हसम्म यो प्रकरणमा पक्राउ परेका १८ जना आरोपितका बारेमा थुनछेक आदेश गर्ने भएको छ ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सरकारी वकिल र १८ जना आरोपितहरुका कानून व्यवसायीहरुको बहस सकिएको छ । न्यायाधीश न्यौपानेले शुक्रबार विहान सरकारी वकिलहरुको जवाफी बहस सुन्ने र त्यसपछि आदेश गर्ने बताएका छन् ।

Khan-in-Police-Custody1684062329.jpg
नक्कली भुटानी शरणार्थी प्रकरणमा २१ जेठदेखि जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ । गत मंगलबार आदेश गर्ने योजना रहे पनि बहस लम्बिएको थियो ।
जिल्ला अदालतले १८ जना आरोपितहरुलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारेखमा छाड्नेबारे कुनै एक आदेश गर्नेछ । आरोपितहरुको भूमिका र संलग्नताका आधारमा इजलासले उनीहरुलाई फरक फरक आदेश पनि गर्न सक्छ ।
शुक्रबार हुने आदेश मुद्दाको अन्तिम फैसला भने होइन । आरोपितहरुलाई थुनामा राख्ने कि छाड्ने भन्ने आदेश गरेपछि मात्रै अदालत मुद्दाको विषयवस्तुमा प्रवेश गर्छ ।
थुनछेक आदेशमा जिल्ला अदालतबाट हुने आदेश चित्त नबुझे सरकारी वकिल र आरोपित पक्षले उच्च अदालतमा पुनरावेदन गर्न पाउनेछन् । यो प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले १२ जना फरार रहेको उल्लेख गरेको छ । उनीहरु भने अदालतमा उपस्थित भएपछि मात्रै बयान र थुनछेक बहस हुन्छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार