काठमाडौं महानगरले लगायो दुई अस्पतालमा ताला

सोमबार, जेठ २९, २०८०

काठमाडौँ ।  दर्ता नै नगरी सञ्चालनमा रहेका काठमाडौँका दुईवटा अस्पतालमा आज काठमाडौँ महानगरपालिकाले ताला लगाएको छ । दर्ता नगरी सञ्चालनमा रहेको वडा ६ बौद्धको चाइनिज पिपुल्स अस्पताल र वडा ३२ कोटेश्वरमा रहेको सहयात्री अस्पतालमा कामपा जनस्वास्थ्य विभागले ताला लगाएको हो ।
स्वास्थ्यजस्तो संवेदनशील सेवा प्रदान गर्ने स्थान दर्ता नै नभएको पाइएपछि बन्द गराएका कामपा जनस्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए । “मानिसको बाँच्न पाउने अधिकारसँग जोडिएको क्षेत्र हो । यसमा हुने सानातिना त्रुटि र लापर्वाहीले मानिसको मृत्यु हुन सक्छ । गलत औषधिको प्रयोगले जीवन अझ अस्वस्थ्य हुन्छ । दर्ता नै नगरी सञ्चालन हुने स्वास्थ्य संस्था न सरकारप्रति जिम्मेवार छन्, न नागरिकप्रति यसकारण बन्द गरिएको हो” उनले भने ।     
बन्द गरिएका दुवै अस्पताल १५र१५ शय्याका थिए । चाइनिज पिपुल्स अस्पतालमा अक्युपङ्चर र पाइल्सको उपचारका लागि मानिसहरु आउने गरेका थिए । त्यस्तै, सहयात्रीले गर्भपतन सेवा दिँदै आएको थियो ।
जेठ पहिलो साता नै कामपाको प्रमुख बालेन्द्र साहले उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको १० प्रतिशत छुट्याई निःशुल्क उपचार गर्न आफ्नो क्षेत्रभित्रका अस्पतालहरूलाई निर्देशन दिएका थिए ।
साहले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७०, (घ) मा भएको व्यवस्था स्मरण गराउँदै कामपाको अधिकार क्षेत्रमा केन्द्र, प्रादेशिक, स्थानीय सबै प्रकृतिका स्वास्थ्य संस्थामा त्यो व्यवस्था लागू गर्न आह्वान गरेका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  २१:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार