७१ जिल्लामा फैलियो लम्पी स्किन महामारी 

बिहीबार, जेठ २५, २०८०

काठमाडौं । नेपालका गाईभैँसीमा देखिएको लम्पी स्किन रोगको महामारी अहिले तीव्र रूपमा फैलिरहेको सरकारी तथ्याङ्कले देखाएको छ । पशु सेवा विभागले उपलब्ध गराएको तथ्याङ्क हेर्दा गत एक महिनाकै अवधिमा सङ्क्रमित हुने गाईभैँसीको सङ्ख्या व्यापक रूपमा बढेको पाइएको छ ।
विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले वैशाखको अन्तिम सातातिर सङ्क्रमित गाईभैँसीको सङ्ख्या १५,००० भएको बताएका थिए । उनका अनुसार अहिले त्यो सङ्ख्या पाँच लाखको हाराहारीमा पुगेको छ ।
पहिला यो रोगबाट ३५ जिल्लामा फैलिएको पुष्टि भएकोमा अहिले ७१ वटा जिल्लामा फैलिसकेको छ ।
“अहिले ५०० वटाभन्दा बढी स्थानीय तह प्रभावित भएको विवरण हामीलाई प्राप्त भएको छ,” ढकालले भने, ‘यो महामारी नै हो ।’ उनका अनुसार प्रभावित हुनेमा हिमाल, पहाड र तराई सबैतिरका जिल्ला रहेका छन् । “थोरै समयमा यति ठूलो क्षेत्रमा फैलिनु भनेको यो महामारी नै हो,” विभागका सूचना अधिकारी समेत रहेका ढकालले थपे । लम्पी स्किन रोगका कारण प्रायः गोरु, भर्खरै जन्मेका बाच्छाबाच्छी, पाडापाडी, गर्भवती र हालै ब्याएका गाईभैँसी छन् । “झन्डै १०,००० गाईभैँसी मर्नु भनेको यसको ठूलै असर देखिनु हो,” नेपालमा परेको प्रभावबारे उनले भने ।

किन चिन्ताको विषय हो ?
सरकारी निकायका एक वरिष्ठ अधिकारीले लम्पी स्किन रोगले अहिले पारेको असरलाई कम ठान्न नहुने भन्दै सचेत गराए । “कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यसलाई गम्भीर रूपमै लिनुपर्छ। यो त ठूलो चिन्ताको विषय हो,” राष्ट्रिय पशु विज्ञान अनुसन्धान परिषद्‌का निर्देशक डा। स्वयंप्रकाश श्रेष्ठले भने ।
लम्पी स्किन रोगबाट हुने गाईभैँसीको मृत्युदर कम भए पनि त्यसले दूध उत्पादनमा पार्ने असर झन् चिन्ताजनक भएको श्रेष्ठ औँल्याउँछन् । “रोगप्रतिरोधी क्षमता कम भएका गाईभैँसी यसबाट मर्ने भए पनि ुप्रोडक्शन लसु चाहिँ सबैमा हुन्छ । उदाहरणका लागि, १० लिटर दूध दिनेको दुई लिटरमा झर्न पुग्छ,” श्रेष्ठले भने । विभागका वरिष्ठ पशु विकास चिकित्सक डा। ढकालले पनि समान जानकारी दिए । “मृत्युदरभन्दा पनि यसबाट उत्पादनमा आउने ह्रास महत्त्वपूर्ण हो”, उनले भने । 

आर्थिक क्षति कति भयो ?
लम्पी स्किन रोगले पारेको आर्थिक क्षतिबारे अध्ययन हुन बाँकी रहेको पशु सेवा विभागले जनाएको छ ।
“हामीले नेपाल कृषि अनुसन्धान परिषद्‌मार्फत्‌ क्षतिबारे अध्ययन नै गराउन लागेका छौँ । तर यसो हेर्दा यसबाट परेको क्षति करोडौँ रुपैयाँ हुनसक्ने देखिन्छ,” ढकालले भने ।
राष्ट्रिय पशु विज्ञान अनुसन्धान परिषद्‌का निर्देशक डा। श्रेष्ठ पनि लम्पी स्किन रोगले ठूलो क्षति पुर्‍याएकोमा दुईमत नभएको बताउँछन् । “मरेका एउटा गाई वा भैँसीको तपाईँले ५०,००० रुपैयाँ मात्र मूल्य राख्नुभयो भने करोडौँ रुपैयाँ हुन आउँछ,” श्रेष्ठले थपे । बीमा गरिएका गाईभैँसीको मृत्युपछि उल्लिखित रकम बीमा कम्पनीहरूले बेहोरेको हुनुपर्ने ढकालले बताए ।

लम्पी स्किन कहाँ-कहाँ फैलिएको छ ?
पशु सेवा विभागका अनुसार नेपालको मोरङ जिल्लामा विसं २०७७ सालको साउन २२ गते पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो । लम्पी स्किन रोग पहिलो पटक अफ्रिकी मुलुक जाम्बियामा सन् १९२९ मा देखिएको थियो ।
केही समयसम्म त्यो सब–सहारन अफ्रिकामा सीमित रह्यो भने बिस्तारै उत्तर अफ्रिका, मध्यपूर्व, युरोप र एशियासम्म फैलियो ।
राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन ९एफएओ० का अनुसार सन् २०१९ को जुलाईमा पहिलो पटक बाङ्ग्लादेश, चीन र भारतमा लम्पी स्किन देखिएको थियो । यो रोग आर्थिक वर्ष २०७७–०७८ मा नेपालका आठ जिल्लाका ११ वटा पालिकामा देखिएको थियो भने २०७८–०७९ मा नौ जिल्लाका १९ पालिकामा फैलिएको पाइयो ।
त्यसपछि २०७९–०८० मा खासै नदेखिए पनि अहिले आएर सातवटै प्रदेशमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको विभागले जनाएको छ ।
शुरूतिर तराई र मध्य पहाडका जिल्लामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएकोमा अहिले उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि पुगिसकेको छ।

लम्पी स्किन रोग

लम्पी स्किन कसरी सर्छ ?
गाईभैँसीलाई हुने यो एकदमै सङ्क्रामक रोग हो । लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गर्छ । सङ्क्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्छ ।
गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ । सङ्क्रमित गाईभैँसीको दूध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र कहिलेकाहीँ मृत्यु पनि हुन सक्छ ।
खासगरी ज्वरो नियन्त्रण गर्न सकिएन त्यस्तो अवस्थामा सङ्क्रमित गाईबस्तु मर्ने गर्छन् । यो रोग लागेका गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रा र गोला गाँठा हुन्छन् । त्यस्तै सङ्क्रमित गाईभैँसीको थुतुनो, मुख र नाकमा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्कन्छ ।

मान्छेमा सर्छ ?
पशु चिकित्सकहरूका अनुसार लम्पी स्किन ‘जूनोटिक डिजीज’ अर्थात् पशुबाट मान्छेमा सर्ने रोग होइन । एफएओले सन् २०१७ मा आफ्नो एउटा प्रतिवेदनमा लम्पी स्किन रोगले मानिसलाई असर गर्दैन भन्ने पुष्टि गरेको थियो ।
“यो रोग मान्छेमा सर्छ भन्ने कुरा कुनै पनि वैज्ञानिक अध्ययनले प्रमाणित गरेको छैन,” डा. ढकालले भने ।

के हो  यसको उपचार ?
यो रोगको प्रभावकारी उपचार छैन । त्यसैले रोग लाग्न नदिनु नै उत्तम उपाय भएको पशु चिकित्सकहरू बताउँछन् ।
“यो रोग लाग्न नदिन खोप लगाउँदै आइएको छ । तर रोग लाग्न नदिनका लागि भ्याक्सिनेशन हो । सङ्क्रमण भएको बेला खोप लगाउन हुँदैन”, ढकालले भने । भाइरसको प्रकृतिअनुसार १० देखि १५ दिनमा यो रोग निको हुन्छ ।
“एक पटक यो रोग लागेपछि एन्टिबडी बनेका कारण दोहोर्‍याएर गाईभैँसीलाई फेरि लाग्दैन,” उनले थपे ।

सङ्क्रमित गाईभैँसीको दूध खान हुन्छ ?
हालसालै भारतका केही राज्यमा लम्पी स्किन रोग फैलिएका बेला सङ्क्रमित गाईभैँसीको दूध नखान भन्दै सामाजिक सञ्जालमा अभियान नै चलाइएको थियो । तर भारतकै पशु चिकित्सकहरूले त्यसमा कुनै सत्यता नभएको भन्दै खण्डन गरे । पशु सेवा विभागस्थित वरिष्ठ पशु विकास अधिकृत ढकालका अनुसार पनि त्यस्ता गाईभैँसीको दूध सेवन गर्नै नहुने भन्ने हुँदैन । “शरीरभरि घाउ नै घाउ भएको गाईभैँसीको दूध दुहेर खान मन नलाग्नु स्वाभाविक नै हो,” उनले भने ।
“तर सङ्क्रमित गाईभैँसीको दूध खानु हुँदैन भन्ने कुरा कुनै पनि अनुसन्धान अथवा वैज्ञानिक अध्ययनले भनेको छैन । मज्जाले उमालेर खान सकिन्छ।”

कसरी नियन्त्रण गर्न सकिन्छ ?
राष्ट्रिय पशु विज्ञान अनुसन्धान परिषद्‌का निर्देशक डा। श्रेष्ठका अनुसार सुरुमै प्रभावकारी कदम चालिएको भए त्यसले अहिलेको रूप नहुन पनि सक्थ्यो ।
“सुरुतिरै सङ्क्रमित गाईभैँसीको ‘मुभमेन्ट’ रोक्न सकेको भए अहिले महामारीको रूप नलिएको पनि हुन सक्थ्यो,” उनले औँल्याए । नियन्त्रण तथा रोकथामका लागि राज्य दुईवटा कदम चाल्नुपर्ने श्रेष्ठको सुझाव छ ।
“एक त सङ्क्रमित गाईभैँसीलाई क्वारन्टीनमा राख्नुपर्छ, अर्को कुरा राज्य व्यापक रूपमा भ्याक्सिनेशन अभियान चलाउनुपर्छ,” उनले सुझाए ।
विभागका वरिष्ठ पशु विकास चिकित्सक ढकालका अनुसार नेपालका गाईभैँसीमा अहिले जोर्डनमा निर्मित खोपको प्रयोग भइरहेको छ ।
“कतिपय ठाउँमा स्थानीय सरकारको सहयोगमा खोप कार्यक्रम चलिरहेको छ भने कतिपय ठाउँमा किसान स्वयंले नै खोप किनेर गाईभैँसीमा लगाइरहनुभएको छ”, उनले भने ।

लम्पीस्किनका कारण ८० गाईभैँसी मरे
पशु चौपायामा देखिएको लम्पीस्किन रोगका कारण जिल्लामा ८० गाईभैँसी मरेका छन् । लम्पीस्किन फैलिँदै गइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले जनाएको छ ।
कार्यालयका प्रमुख सुशील केसीका अनुसार हाल जिल्लामा तीन हजार ८६ गाई र दुई सय ५२ भैँसी गरी तीन हजार चार सय १८ गाईभैँसीमा लम्पीस्किनको सङ्क्रमण देखिएको छ । सङ्क्रमण भएकामध्ये ८० गाईभैँसी मरेका छन् । सातवटै पालिकामा लम्पीस्किन फैलिएको र राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिका बढी प्रभावित भएको उनले जानकारी दिए । 
उनका अनुसार राप्ती नगरपालिकामा एक हजार ४०५, कालिका नगरपालिकामा दुई सय ६५, खैरहनी नगरपालिकामा २०४ गाईभँैसीमा सङ्क्रमण देखिएको छ । भरतपुर महानगरपालिकामा दुई सय २५, रत्ननगर नगरपालिकामा एक सय १४, इच्छाकामना गाउपालिकमा नौ सय ५२, माडी नगरपालिकामा दुई सय ५३ पशुलाई लम्पीस्किनको सङ्क्रमण देखिएको छ ।
कार्यालयका अनुसार इच्छाकामना गाउँपालिकामा ४९, भरतपुर महानगरपालिकामा १३, राप्ती नगरपालिकामा १०, कालिका र रत्ननगर नगरपालिकामा चार÷चार गाईभैँसी लम्पीस्किनको सङ्क्रमणबाट मरेका छन् । 
झिँगा, भुसुना, लामखुट्टे विभिन्न कीराको टोकाइबाट फैलिने यस रोगको सङ्क्रमणले पशुमा ज्वोरो आउने, फोका निस्कने, गाँठागुठी आउने, पशु बस्तुलाई कमजोर बनाउने गर्छ । 
सङ्क्रमण फैलिन नदिन गोठ वरिपरी सफा गर्ने, जैविक सुरक्षामा ध्यान दिने, अन्य पशुसँग नराख्ने, चरनमा नलैजाने, पशु वस्तुको रोगसँग लड्ने क्षमता बढाउन खोप लगाउनु पर्छ । -बीबीसी 

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १७:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार