परराष्ट्रमन्त्री एनपी साउदले ढाकामा भेटे उनका भारतीय समकक्षी जयशङ्करलाई

शनिबार, वैशाख ३०, २०८०

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र उनका भारतीय समकक्षी डा.एस जयशङ्करबीच भेटवार्ता भएको छ। छैटौँ हिन्द महासागर सम्मेलनमा भाग लिन बङ्गलादेशको ढाका पुगेका उनीहरूबीच आज भेटवार्ता भएको बङ्गलादेशस्थित नेपाली दूतावासले जनाएको छ । दुवै मन्त्रीले नेपाल–भारत सम्बन्धको उत्कृष्ट अवस्थाप्रति सन्तोष व्यक्त गर्दै व्यापार, पारवहन, कनेक्टिभिटी, जलविद्युतलगायतका क्षेत्रमा सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका थिए ।
परराष्ट्रमन्त्री साउद बङ्गलादेशको ढाकामा यही वैशाख २९ र ३० गते हुने छैटौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन शुक्रबार दिउँसो त्यसतर्फ प्रस्थान गरेका थिए ।
‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी’ भन्ने नाराका साथ हुन लागेको उक्त सम्मेलनमा उनले आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ। परराष्ट्रमन्त्री साउदले हिजो नै उनका बङ्गलादेशी समकक्षी डा एके अब्दुल मोमेनबीच पनि भर्चुअल वार्ता भएको थियो ।
वार्तामा दुवै मन्त्री नेपाल–बङ्गलादेश सम्बन्धका विभिन्न पक्षको बारेमा जानकारी आदानप्रदान गर्नुका साथै व्यापार, पारवहन, लगानी, ऊर्जा, शिक्षा, जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्न मिलेर काम गर्न सहमत भएका थिए ।
साथै उनले सम्मेलनका क्रममा जापान, सिङ्गापुर र संयुक्त राज्य अमेरिकाका प्रतिनिधिमण्डलका प्रमुखहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् । उनी आइतबार स्वदेश फर्कने कार्यक्रम छ।
भारतीय विदेशमन्त्रीसँगको भेटमा नेपाल–भारत सम्बन्धको उत्कृष्ट अवस्थाप्रति सन्तोष व्यक्त गर्दै व्यापार, पारवहन, कनेक्टिभिटी, जलविद्युतलगायतका क्षेत्रमा सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

 

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  ०५:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार