नेपाल उद्योग वाणिज्य महासङ्घ निर्वाचनमा मतदान समय सकियो, बेलुका ८ बजेदेखि मतगणना हुने

बुधबार, चैत २९, २०७९

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी चयनका लागि भएको मतदान सकिएको छ । प्रज्ञा प्रतिष्ठानमा भएको मतदान साँझ ६ बजे सकिएको हो । बिहान १० बजे सुरु भएको मतदानमा जिल्ला नगर र वस्तुगततर्फ शतप्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत लीलामणी पौडेलले जानकारी दिए । एसोसिएटतर्फ भने एकिन तथ्यांक आएको छैन ।
तीन उपाध्यक्षका उमेदवारसँग छलफल गरी बेलुका ८ बजेदेखि मतगणना गरिने पनि उनले बताए । पहिलो चरण्मा वस्तुगततर्फका सदस्यबाट मत गन्न सुरु गर्ने उनले जानकारी दिए ।
महासंघमा कूल एक हजार ९८८ मतदाता छन् । जसमा वस्तुगततर्फ १२३ मतदाता छन् । उद्योग वाणिज्यतर्फ ११७ र एसोसिएटतर्फ एक हजार ७४८ मतदाता छन् ।
निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र सात प्रदेशबाट सात, उद्योग वाणिज्य संघबाट १८, वस्तुगत संघबाट १४, एसोसिएटबाट १९, द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट एक र संस्थापक सदस्य समूहबाट एकजना कार्यसमिति सदस्य निर्वाचित हुनेछन् ।
बिहान ८ बजेदेखि सुरु भएको मतदानमा जिल्लानगर र वस्तुगततर्फ तथा एशोसिएटतर्फतको मतदान सकिएको निर्वाचन अधिकृत रमणकुमार कर्णले जानकारी दिए । बिहान ८ बजेदेखि सुरु भएको मतदान बीचमा केहीबेर अवरोध भएकाले थप दुई घण्टा समय थप गरेर साँझ ६ बजेसम्म कायम गरिएको थियो
महासङ्घका अनुसार वस्तुगततर्फ एक सय २३ र जिल्ला नगरतर्फ एक सय १९ जना मतदाता छन् भने एशोसिएटतर्फ एक हजार सात सय ६२ मतदाता छन् । निर्वाचन अधिकृत कर्णका अनुसार जिल्लानगर र वस्तुगततर्फ शतप्रतिशत मतदान भएको छ ।
यो निर्वाचनबाट आगामी तीन वर्षको कार्यकालका लागि नयाँ नेतृत्व चुनिँदैछ । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष बन्दै छन् । अहिले वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र सङ्घई, अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच त्रिपक्षीय प्रतिस्पर्धा भइरहेको छ ।
निर्वाचनमा सङ्घई प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हीराचन र एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ उम्मेदवार छन् । अञ्जन श्रेष्ठ प्यानलमा वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी उम्मेदवार छन् ।
उमेशलाल श्रेष्ठको प्यानलमा जिल्ला नगर उपाध्यक्षतर्फ दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल उम्मेदवार छन् ।
एसोसिएटतर्फको उपाध्यक्षमा भने अञ्जन श्रेष्ठ प्यानल र उमेशलाल श्रेष्ठ प्यानलको संयुक्त उम्मेदवारका रुपमा भरतराज आचार्य रहेका छन् ।
महासङ्घ कार्यकारिणी समितिमा प्रत्येक प्रदेशबाट एक–एक जना सदस्य रहन्छन् । जसका लागि कोशी प्रदेश सदस्यमा टङ्कप्रसाद दुलाल, नरेन्द्रकुमार खड्का र तारानाथ घिमिरेबीच प्रतिस्पर्धा भइरहेको छ । मधेस प्रदेश सदस्यका लागि विजयकुमार साह र अरुणकुमार प्रधानको उम्मेदवारी छ भने बागमती प्रदेशबाट कृष्णप्रसाद अवाल र सविन श्रेष्ठ आमनेसामने भएका छन् । गण्डकी प्रदेशबाट जीवनज्योति श्रेष्ठ र युवराज राजभण्डारीको उम्मेदवारी परेको छ भने लुम्बिनी प्रदेशबाट जम्शेर मियाँको एकल उम्मेदवारी छ । त्यस्तै, कर्णाली प्रदेशबाट लालिमान बुढा, धनबहादुर रावत क्षेत्री र कुलबहादुर विश्वकर्मा तथा सुदूरपश्चिम प्रदेशबाट रामबहादुर भण्डारी र जङ्गबहादुर मल्लको उम्मेदवारी छ ।
 संस्थापक सदस्य समूहतर्फ भीष्मप्रसाद न्यौपाने र टीकाराज ढकालको उम्मेदवारी छ । उनीहरुमध्ये एकजना निर्वाचित हुनेछन् । वस्तुगत सङ्घतर्फको सदस्यमा २८ जनाको उम्मेदवारी परेकामा १४ जना निर्वाचित हुनेछन् ।
त्यस्तै जिल्ला नगर सङ्घ सदस्यमा ३२ जनाको उम्मेदवारी परेको छ । जसमा १८ जना निर्वाचित हुनेछन् । एसोसिएट सदस्यतर्फ १९ जना सदस्यका लागि ३० जनाको उम्मेदवारी परेको छ । द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घ सदस्यतर्फ सुनिल केसीको एकल उम्मेदवारी परेको छ ।
महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षको उम्मेदवार निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने भएकाले कुनै उम्मेदवार पहिलो चरणमा निर्वाचित हुन नसकेका दोस्रो चरणका लागि भोलि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म फेरि मतदान हुनेछ ।

 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १९:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार