सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । मिटरब्याज पीडित र सरकारी टोलीबीच सोमबारको पनि वार्ता भएको छ । हिजो पनि पीडितसँग परिचयत्मक वार्ता भएको थियो । अब फेरि भोलि सोमबार वार्तामा बस्ने गरी सोमबारको वार्ता सकिएको हो । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनका अनुसार आजको वार्तामा मिटरब्याज पीडितसँग सरकारले यस अगाडि गरेका सहमतिका बारेमा छलफल भएको थियो । सरकारले मिटरव्याज पीडितसँग दुई पटक (१ असोज र १८ चैतमा) सम्झौता गरेको थियो । यी सम्झौताले मिटरब्याज पीडितको समस्या समाधान नहुने भन्दै २० चैतदेखि मिटरब्याज पीडितको अर्को समूह काठमाडौं केन्द्रित आन्दोलनमा छ । काठमाडौंमा आन्दोलित पीडितसंग सरकारले २५ चैतमा प्रारम्भिक छलफल गरेको थियो । छलफलका क्रममा पीडितले सरकारसमक्ष ६ बुँदे माग राखेका छन् । सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रदीपकुमार कोइरालाले उनीहरुका तर्फबाट ल्याइएको ६ बुँदे मागका विषयमा सकारात्मक छलफल भएको जानकारी दिए । आजको वार्ता गृह मन्त्रालयमा भएको थियो ।
“आजको वार्तामा उनीहरुका माग सुन्ने काम भयो, हामीले टिपोट गरेका छौँ, नीतिगत रुपमा समाधान के गर्न सकिन्छ भनेर छलफल पनि भयो, भोलि पुनः वार्ता हुनेछ”, कोइरालाले भने । वार्तामा पीडितहरुले प्रशासनिक, नीतिगत र कानुनी प्रश्नसहितको माग राखेका छन् । त्यसमध्ये पीडकले धम्क्याउने, तर्साउनेजस्ता विषयमा प्रशासनिक रुपमा हल गर्न सकिने र त्यस्ता सूचना प्राप्त हुने बित्तिकै गृहमन्त्रालयले कारबाही अघि बढाउने भनेर छलफल भएको छ । यसअघि मिटरब्याज पीडितको पहिलो समूहसँग गृह मन्त्रालयले चैत १८ गते पाँचबुँदे सहमति गरेको थियो । त्यो सहमति अपूरो भएको भन्दै दोस्रो समूहका मिटरब्याजी पीडित सङ्घर्ष समितिले ६ बुँदे माग राखेका छन् । पीडितले राखेका ६ बुँदे मागका विषयमा सोमबारको वार्तामा विस्तृतमा छलफल नभएको संघर्ष समितिका प्रवक्ता नविनले बताए । भोलि हुने वार्तामा मिटरब्याज पीडितले राखेका ६ बुँदे मागका विषयमा छलफल हुनेछ । मिटरब्याज पीडितले राखेका माग १. मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत (तमसुक, दृष्टिबन्धक रजिष्ट्रेसन) छिनुवा पास, कतिपय अवस्थामा चेक समेत आदि) मन्त्रीपरिषद् स्तरीय निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तीको व्यवस्था गर्नुपर्ने ।
२. कानुन मन्त्रालयमा अडकिएको ’मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदल’ ले सिफारिस गरेको कानुनी मस्यौदा तत्काल संघर्ष समिति र पीडितको जानकारीमा ल्याउनुपर्ने साथै पीडितसँग छलफल गर्दै समयसिमा तोकेर फास्ट ट्रयाकमा नयाँ कानुन जारी गर्नुपर्ने । ३. नयाँ कानुन लागू नभएसम्म फर्जी लिखतका आधारमा अदालतमा मिटरव्याजसंग सम्बन्धित मुद्धाको दर्ता तथा सम्पूर्ण अदालती प्रकृया स्थगित गर्नुपर्ने र फैसला भइसकेका मुद्धाको पुनरावलोकन गर्नुपर्ने साथै फर्जी लिखतका आधारमा पकाउ परेका पीडितको स–सम्मान रिहाइ गर्नुपर्ने ।
४. जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका र दर्ता हुन आउने मिटरब्याजसंग सम्बन्धित निवेदनका आधारमा साहु महाजनलाई तत्काल पक्राउ गरी उनीहरुको सम्पत्ति छानविन गर्नुपर्ने ।
५. साहु–महाजनद्वारा भएका मिटरब्याजसँग सम्बन्धित हत्या, दुर्व्यवहार, महिलामाथि हुने ज्यादती तथा यौन हिंसा तथा मानवअधिकार उल्लंघनका अन्य घटनाको गम्भीर छानविन गर्दै कारवाही गर्नुपर्ने तथा पीडितलाई न्यायोचित क्षतिपूर्तीको व्यवस्था गर्नुपर्ने ।
६. पीडितले गैह्रकानुनी व्याजदरमा ऋण लिनुपर्ने कारणको पहिचान गर्दै शोषित तथा उत्पीडित वर्ग तथा समुदाय साथै उद्यमी तथा व्यवसायी लक्षित न्यायपूर्ण आर्थिक कारोबार सुनिश्चित गर्न सहुलियतपूर्ण वित्तीय कार्यक्रम ल्याउनुपर्ने ।