संक्रमणकालीन र सम्पत्ति शुद्धीकरण विधेयकमा बीचको बाटो खोजौं : प्रधानमन्त्री

शनिबार, चैत २५, २०७९

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा दर्ता भएका तीन विधेयक पारित गर्नका लागि सत्तापक्ष र प्रतिपक्षबीच समझदारी खोज्नेबारे छलफल भएको बताएका छन् । सभामुख देवराज घिमिरेको पहलमा शनिबार सिंहदरबारमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
संसद् संचालनबारे गम्भीर छलफल भएको प्रधानमन्त्री दाहालको भनाइ थियो । उनले फेरि तीन नेताबीच छलफल गरेर अगाडि बढ्ने समझदारी भएको पनि जानकारी दिए ।
संसद्मा हाल सरकारको प्राथमिकतामा रहेका विधेयक तीनवटा छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेय, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई सरकारले चालु अधिवेशनबाटै पारित गर्न खोजेको छ ।
'यी विधेयक छिटो टुंग्याउन जरुरी छ, राष्ट्रका लागि । सहमति जुटाउने भन्ने कुरामा सैद्धान्तिक रूपमा सबै सहमत छौं', प्रधानमन्त्री दाहालले भने, '२८ गते बिहान ९ बजे फेरि बसेर टुंगो लगाउने कुरा भएको छ । विधेयकहरूलाई सरकारमा हुनेहरूको कुरा फास्ट ट्र्याकबाट पारित गर्नुपर्छ भनेका छौं । प्रतिपक्षले समितिमा लैजानुपर्ने भनेको छ । बीचको बाटो खोज्ने भन्ने पनि छ ।'

 

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  २१:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार