सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । गृह मन्त्रालयले भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न निर्देशन दिएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघको मागमा गृह मन्त्रालयले बुधबार एक परिपत्र गर्दै भाडामा यात्रु बोक्ने निजी सवारीमाथि कारबाहीको निर्देशन दिएको हो । यो निर्देशन पालना भए भाडा लिएर यात्रु बोक्ने सबै निजी सवारीसहित पठाओ र इन्ड्राइभरसहित राइड सेयर सेवा दिएका दर्जनौं कम्पनी पनि प्रभावित हुने जोखिम छ । एपको प्रयोगमार्फत निजी सवारीमा यात्रु बोक्ने काम यस्ता राइड सेयर सेवप्रदायक कम्पनीले पनि गराइरहेका छन् । लामो रुटमा समेत साना निजी गाडीहरुले मोलमोलाइ गरेर यात्रु ओसारी रहेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले मंगलबार गृह मन्त्रालयमा एक ज्ञापनपत्र पेश गर्दै सार्वजनिक यातायातका सवारी साधनहरुलाई प्रत्यक्ष असर पुर्याउने गरी निजी सवारीको रुपमा दर्ता भएका सवारी साधनहरु उद्देश्य विपरीत आफूखुशी भाडा तोकेर देशभर निर्वाद रुपमा यात्रु ओसारपसार गर्ने गरेको गुनासो गरेको थियो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १२ मा एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनका निम्ति प्रयोग गर्ने नपाइने व्यवस्था भएपनि विभिन्न स्थानहरुमा निजी सवारी साधनहरुले सार्वजनिक सरह सवारी सञ्चालन गरेको महासंघको भनाइ थियो । यस्तो कार्यले द्वन्द्व र विवाद समेत हुने गरेकोले कानुन विपरीतका कार्यहरुको प्रभावकारी नियन्त्रणको व्यवस्थाका लागि सम्बन्धित निकायमा निर्देशन गरिदिनुहुन अनुरोध गरिन्छ’ ज्ञापनपत्रमा भनिएको थियो । यसकै आधारमा गृहले महासंघको पत्र संलग्न गरेर बुधबार आवश्यक कारबाहीका लागि भन्दै जिल्ला प्रशासन कार्यालयहरुमा परिपत्र गरेको हो । महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला काठमाडौंमा कोटेश्वर, गौशाला, कलंकीलगायतका क्षेत्रमा निजी सवारीहरुले नै सार्वजनिक जस्तैगरी यात्रुसँग भाडा उठाउँदै सेवा दिइरहेकाले गृह मन्त्रालयको ध्यानाकर्षण गराएको बताए । गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत रातो नम्बर प्लेटमा दर्ता भएर भाडामा यात्रु बोक्ने सवारीसाधनलाई रोक्न परिपत्र गरिएको बताउँछन् ।