पाँच वर्ष अघि सुरु भएको नख्खु सडक कहिले सम्पन्न होला ?

सरकारी अधिकारी भन्छन, 'अब केही दिनमै सम्पन्न हुन्छ'
शनिबार, चैत १८, २०७९

काठमाडौँ । सडक विस्तारको काम सम्पन्न गर्न कति वर्ष लाग्छ ? भैसेपाटी नख्खुका बासिन्दालाई सोध्ने हो भने आक्रोशपूर्ण जवाफ आउँछ ठेकेदार र नेताले कहिलेसम्म मिलिजुली पैसा खान्छन तबसम्म बाटो मर्मतको काम जारी रहन्छ । लामो समयसम्म सडक अलपत्र हुँदा धेरै नागरिकले दुःख पाएको नख्खु उकालोको सडक  केही दिनमै सम्पन्न गरिने सरकारी अधिकारीले बताएका छन् । यहाँ सडक विस्तारको काम पाँच वर्ष अघि सुरु भएको हो । नख्खु–बुङमती सडक विस्तार सुरु भएकामा अरु खण्डमा सकिए पनि प्रवेशबिन्दुको रुपमा रहेको नख्खु उकालोमा सडक अलपत्र रहेको थियो । पछिल्लो समय खानेपानीको पाइपका कारण कालोपत्र हुन नसकेकोमा त्यो व्यवस्थापन सकाएर कालोपत्र गर्न लागिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । अबको केही दिनमा नै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पाइपको काम सकाउने र त्यसपछि सडक कालोपत्र गरिने आयोजनाका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।
नख्खु उकालोमा अहिले खानेपानीको पाइपको काम अन्तिम चरणमा छ । लिमिटेडले अहिले कनेक्सन (पाइप जोड्ने) काम गरिरहेको र अबको चारपाँच दिनमा सकाउने सूचना अधिकारी जोशीले बताए  । उनले भने, “उकालोको काम यो महिनाभित्र सकाउने लक्ष्य छ ।”
लिमिटेडले अहिले रात दिन खटिएर निरन्तररुपमा पाइप व्यवस्थापनको काम गरिरहेको सूचना अधिकारी जोशीले जानकारी दिए । पाइपको काम मसिनो हुने र थोरै काम देखिए पनि प्रत्येकलाई पाइपलाई जोडेर गर्नुपर्ने हुँदा समय लागेको हो । उनले भने, “मुख्य पाइपको काम भइसकेको छ र चार पाँच दिनमा घरघरमा कनोक्सन दिने काम हुनेछ ।” भैँसेपाटीबाट बुङमतीको खण्डमा पनि  चैतसम्म सकाउनुपर्ने उनको भनाइ छ । सो खण्डमा अहिले लिमिटेड, नेपाल टेलिकमलगायतका अरु निकायले पनि काम गरिरहेको हुँदा अलि ढिला हुन गएको छ ।

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १०:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार