सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नुवाकोट र पाँचथरमा सवारी दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका छन् । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा घाइते भएका अन्य १० जनाको काठमाडौँमा उपचार भइरहेको छ । बेतिनीबाट यात्रु लिएर शुक्रबार काठमाडौँ जान लागेको सुमो शुक्रबार अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा दुर्घटना हुँदा घटनास्थलमा दुईजना र उपचारका क्रममा गएराति थप एकजनाको मृत्यु भएको हो । काठमाडौँको ट्रमा सेन्टरमा उपचारका क्रममा ४५ वर्षीया सानुकान्छी तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । घटनास्थलमा दुप्चेश्वर गाँउपालिका–४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको मृत्यु भएको थियो । घाइते दशमध्ये तीन जनाको अवस्था गम्भीर छ। सवारी दुर्घटनामा एकको मृत्यु पाँचथरमा गए राति सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत फिदिम नगरपालिका–३ कान्छीदोकान बजार छेउमा गए रातिे प्र १–०१–००१ च ९३४९ को कार सडकबाट करिब २०० मिटर तल झरेर दुर्घटना हुँदा कारमा सवार १८ वर्षीया रश्मी भुजेलको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार मृतकका बाबु झापाको विर्तामोड नगरपालिका–१ का ४५ वर्षीय राजु भुलेजले चलाएको कार सडकबाट झरेर दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक राजुसहित उनकी श्रीमती ३९ वर्षीया लीला भुजेल, बहिनी ४० वर्षीया सीता भुजेल र छोरी रश्मी घाइते भएका थिए । रश्मीलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घाइते तीनै जनाको अवस्था गम्भीर रहेको र जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा कारमा सवार राजुका १३ वर्षीय छोरा राजमोहन भने सकुशल छन् ।