माओवादी नेतृत्वको सरकार लामो समय टिक्ने संचारमन्त्री शर्माको दाबी

बिहीबार, चैत १६, २०७९

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिलेको गठबन्धन सरकार तत्कालै कमजोर भएर नसकिने दाबी गरेकी छन् । उनले विचार फरक फरक भएपनि सबैका लागि देशको निम्ती केही गर्नुपर्ने भावना भएकाले अहिलेको गठबन्धन सरकार भत्किने संभावना नदेखिएको बताइन् । ललितपुरको गोदावरी नगरपालिका वडानम्बर १० स्थित न्यौपाने गाउँमा विप्लप नेतृत्वको माओवादीका नेता चुडामणी वली आर्दशको आमाको निधनमा श्रद्धान्जली दिन पुगेकी मन्त्री शर्माले माओवादी नेतृत्वको सरकार लामो समय टिक्ने दाबी गरेकी हुन् ।
मन्त्री शर्माले सरकारले जनतामा केही गर्छ भन्ने भाव जगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल सफल हुनु सरकारको सबैभन्दा ठूलो उपलब्धि भएको जिकिर गरिन् । उनले वर्तमान सरकारप्रति जनतामा आशा पलाएको अडान राख्दै जनचाहना अनुसार सरकाले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् । २ दिनभित्र सरकारले पूर्णता पाउने उनले ठोकुवा गरिन् ।
सरकारको प्रवक्ता समेत रहेकी मन्त्री शर्माले जनताले जसरी भोट दिए त्यही अनुसार सरकार बनेको तर्क गरिन् । स्पष्ट बहुमत कसैसँग पनि छैन, जनताले जति भोट जसरी दिए त्यही अनुसार सरकार बनेको हो, उनले भनिन्, १० दल मिलेको भन्ने कुरा पछिको हो, एक्लै सरकार बनाउन नसक्ने भए पनि अरु दलको साथ लिनु सहि हो । सत्तारुढ दलहरूबीच मन्त्रालय बाँडफाँडको विषयमा किचलो भइरहँदा आवश्यकता अनुसार आफू जुनसुकै मन्त्रालयमा बस्न पनि तयार रहेको बताईन् । समग्र राजनीतिक परिदृश्यमा अडान लिएर यही मन्त्रालयमा बसिरहन्छु भन्ने छैन त्यो मेरा इच्छामा भर पर्दैन, उनले भनिन्, जहाँ गएपनि मेहेनत गर्नुपर्छ, मन्त्रालय सानो ठूलो हुँदैन, सबैको आआफ्नो महत्व छ । म आवश्यकता अनुसार जहाँ पनि जान सक्छु ।
मन्त्री शर्माका अनुसार यस विषयमा १० दलको छलफल चलिरहेको छ । उनले आफूलाई सञ्चार मन्त्रालयमा रहेर काम गर्न धेरै सिकिएकाले यही बस्नु ठिक हुने स्पष्ट पारे । मेरो आफ्ना कुरा राख्दा मलाई सञ्चार मन्त्रालय नै सहज हुने उनको तर्क छ । आम सञ्चारका विषय बुझेपनि सूचना प्रविधीका विषयमा आफ्नो त्यति ज्ञान नभएकाले त्यस विषयमा बुझ्ने प्रयास गरेको उनले बताइन् ।
नेता चूडामणि वलीकी माता टंककुमारी वलीको ८५ वर्षको उमेरमा गत शनिबार निधन भएको थियो । रोल्पाको गंगादेव गाउँपालिका ३ स्थायी घरभई गोदावरी १० न्यौपाने गाउँ बस्ने टंककुमारी क्यान्सर रोगले पीडित थिइन् ।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  २०:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार