सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले नेपाली कांग्रेस पार्टीबाट अलग हुने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एउटा सन्देश लेख्दै उनले विक्रम सम्वत २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने घोषणा गरेका छन् । त्यसअघि उनले नेपाली कांग्रेसका केही नेताहरूलाई एसएमएस सन्देश पठाउँदै पार्टी छाड्न लागेको जानकारी दिएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका एक जना सांसदले वाग्ले आफ्नो दलमा आएर तनहुँ १ बाट चुनाव लड्ने बताए । उनले एक दुई दिनपछि यी सबै कुरा सार्वजनिक हुने भन्दै उनले थप जानकारी दिन चाहेनन् ।
वाग्लेले के भनेका छन् ? आफ्नो फेसबुक सन्देशमा उनले २०४२ सालको सत्याग्रह र २०४६ सालको जनआन्दोलन देखिको आफ्नो संलग्नता एवं पाँच दशक लामो पारिवारिक विरासत रहेको पार्टीबाट अलग हुने निर्णय लिएको जनाएका छन् । उनले उक्त पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रूपमा आर्थिक नीति र योजना, बौद्धिक-सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेको उल्लेख गर्दै पछिल्ला वर्षहरूमा काँग्रेस पार्टीभित्रका गतिविधिहरू नियालेका 'प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने' अवस्था आएको टिप्पणी गरेका छन् । उनले लेखेका छन्, “जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाइ-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ ।” उनले थपेका छन्, “अब कांग्रेस(कम्युनिष्टका असल मानिसहरू, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ।” सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेन्डा बोक्दै आफू “आम नैराश्य चिरेर देश बनाउने” आशा जगाउने र त्यसका निम्ति लागिपर्ने उनले लेखेका छन् ।
कांग्रेस नेताहरु के भन्छन् ? पार्टी सभापति शेरबहादुर देउवा निकट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पार्टीले उनलाई दिएको सम्मानलाई वाग्लेले ठेस पुर्याएको प्रतिक्रिया दिइन् । उनले भनिन्, “पार्टी नै छाडेर जानेलाई मलाई भन्नु केही छैन । तर उहाँलाई पार्टीबाट अहिलेसम्म जुन सम्मान गरिएको थियो, त्यसको अपमान गरेकोमा दुस्ख लागेको छ ।” कांग्रेसको अर्का नेता तथा सांसद प्रदीप पौडेलले भने दलकोतर्फबाट पनि कमजोरी भएको टिप्पणी गरे । तर त्यसको समाधान वाग्लेले कांग्रेसभित्रै खोज्नु उपयुक्त हुन्थ्यो भन्ने आफूलाई लागेको उनले बताए । उनी भन्छन्, “उहाँसँग जुन क्षमता थियो त्यस अनुसारको अवसर दिने परिस्थिति नबनेको सन्दर्भ पछिल्लो समयमा आएकै हो । पार्टीभित्र धेरै ठूलो पङ्क्तिले अवसर नपाएको परिस्थिति छ ।” उनले थपे, “हामीले त्यसमा सच्च्याउनुपर्ने थुप्रै विषयहरू छन् । तर पार्टी छाड्नुभन्दा त्यो सच्च्याउने अभियानलाई बुलन्द बनाउने बाटो उहाँले रोज्नुपर्थ्यो ।”
कांग्रेस नेताहरूलाई पठाएका थिए एसएमएस कांग्रेस नेता गोविन्दराज पोखरेलले वाग्लेसँग मङ्गलवार मात्रै टेलिफोनमा संवाद भएको र त्यसबेला उनले पार्टी छोड्ने कुनै सङ्केत नगरेको बताए । “उहाँलाई हिजो फोन गर्दा चितवन हुनुहुन्थ्यो पार्टी छोड्ने कुनै छनक थिएन,” पोखरेलले भने । “बिहान हल्ला सुनेर फोन गर्दा उहाँसँग सम्पर्क हुन सकेन । पछि उहाँले ह्वाट्सएपमा सन्देश पठाउनुभयो ।” पोखरेलका अनुसार वाग्लेले आफू “कांग्रेसमा रहन नसक्ने अवस्था आएको” र “देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको” उनलाई पठाएको सन्देशमा उल्लेख गरेका छन् । “अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समय सीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै 'डेलिभरी' को प्रयोगमा जान चाहेँ। यो निर्णय लिनुअघि हजुरहरूसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछिनै हामी बस्नेछौ,” वाग्लेको सन्देश उद्धृत गर्दै पोखरेलले भने । उनका अनुसार वाग्लेले ‘कांग्रेस पार्टीमा हजुरहरूको निर्णायक हैसियत बनेको दिन’ फेरि पनि आफूहरू कुनै न कुनै रूपमा जोडिन सक्ने आशा व्यक्त गरेका छन् ।