सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारले मिटर ब्याज पीडितहरूको समस्या समाधानका लागि वार्ता टोली गठन गरेको छ । सरकारले गृह मन्त्रालयअन्तर्गत नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखसमेत रहेकी सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । वार्ता टोलीमा गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका जंगबहादुर डाँगी सदस्य छन् । मिटर ब्याजपीडितहरुले कष्टपूर्ण संघर्षसहितको आन्दोलन थालेपछि सरकारले उनीहरूको समस्या समाधानका लागि पहल थालेको हो । बर्दिबासबाट ११ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितको माग सम्बोधन गर्नेगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बेलुकी नै सरकारी अधिकारी र सचिवालयका सदस्यलाई खटाएका थिए । मिटरब्याज पीडितसँग प्रधानमन्त्री ‘प्रचण्ड’ले आज भेट्ने तयारी गरेका छन् । मिटर ब्याज पीडितहरुको समस्या समाधानका लागि सरकारले आवश्यक कानुनी व्यवस्था गर्ने विधेयकबारे मंगलबार मन्त्रिपरिषद्ममा छलफलका लागि लैजाने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मिटरब्याज पीडितहरूले सोमबार दिनभर नाराबाजी गरेका थिए । सोमबार राति खुलामञ्चमा बास बस्न चाहेका उनीहरुलाई महानगरपालिकाले रोक लगाएको थियो ।