मिटर ब्याज पीडित काठमाडौंमा, सहुलियत दरमा ऋण उपलब्ध गराउन माग

मंगलबार, चैत १४, २०७९

काठमाडौँ । सहुलियत दरमा ऋणको व्यवस्था गर्नुपर्ने माग गर्दै मिटर ब्याज पीडितले प्रदर्शन गरेका छन् । मिटर ब्याज पीडित सङ्घर्ष समितिको नेतृत्वमा आयोजित प्रदर्शनमा उनीहरुले मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, मिटर ब्याजविरुद्ध कानुन निर्माण गर्नुपर्ने, तमसुक व्यवस्था खारेज गर्नुपर्ने, झुट्टा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गर्नुपर्ने लगायतका माग राख्दै वीर अस्पतालको अगाडि सडकमा प्रदर्शन गरेका हुन् ।   
विभिन्न जिल्लाबाट १३ दिन पैदल हिँडेर काठमाडौँ आइपुगेका मिटर ब्याज पीडितलाई  महानगरपालिकाको नगर प्रहरीले खुलामञ्च प्रवेशमा रोक लगाएपछि वीर अस्पताल नजिकै सडकमा प्रदर्शन गरेका हुन् ।
सङ्घर्ष समितिका संयोजक मनोज पासवानले आफूहरुलाई खुल्लामञ्च प्रवेशमा रोक लगाएकोप्रति विरोध जनाउँदै न्यायका लागि अपिल गर्नुभयो । खुला मञ्चमा विरोध कार्यक्रम गर्न आइतबार नै महानगरपालिकाका र जिल्ला प्रशासन कार्यालयमा अनुमति माग गरे पनि त्यसबारे सुनुवाइ नभएको उनको भनाइ थियो । खुल्लामञ्च प्रवेश गर्न नपाएपछि मिटर ब्याज पीडितहरुले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

मिटरब्याज पीडितको समस्या समाधान गर्न आग्रह

यसैबीच जनमत पार्टीका अध्यक्ष सीके राउतले मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकार समक्ष आग्रह गरेका छन् । अध्यक्ष राउतले मिटरब्याज पीडितसँग भेट गरी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै माग पूरा गर्न सरकारसँग आग्रह गरेका हुन् ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले पनि मिटरब्याजी पीडितको मागप्रति ऐक्यबद्धता जनाएका छन् ।सहुलियत दरमा ऋणको व्यवस्था गर्नुपर्ने, मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, मिटर ब्याज विरुद्ध कानुन निर्माण गर्नुपर्ने, तमसुक व्यवस्था खारेज गर्नुपर्ने, झुट्टा मुद्दामा गिरफ्दार गरिएका पीडितलाई रिहा गर्नुपर्ने लगायतका माग राखी आन्दोलन गर्दै आएका मिटरब्याजी पीडितको मागप्रति मेयर साहलेसामाजिक सञ्जालमार्फत ऐक्यबद्धता जनाएका हुन् ।
“११ दिन हिँडेर काठमाडौँ आएको समाचार हेरेपछि महानगरको मेयरको हैसियतले आफ्नो कार्य क्षेत्रमा नपरे पनि मानवताको नाताले काठमाडौँ वसुन्जेल पशुपति धर्मशालामा बास र खानाको व्यवस्थापन गर्नका लागि आज बिहानै सम्पर्क गरियो तर पीडितले खुल्लामञ्चमै बस्न खोज्नुभयो”, मेयर साहले भनेका छन् ।

 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ०४:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार