चिडियाघरको ‘महाराजा’ ललितपुर महानगरको जिम्मामा

'महाराजा' को आहाराका लागि महानगरले हस्तान्तरण गर्‍यो १५ लाखकाे चेक
सोमबार, चैत ६, २०७९

ललितपुर । ललितपुर महानगरले सदर चिडियाखानामा रहेको पाटेबाघलाई एक वर्षको लागि खाना खुवाउने भएको छ । चिडियाखानाका अनुसार एउटा बाघको खानाकुराका लागि मासिक एक लाख खर्च हुन्छ । ललितपुर महानगर र सदर चिडियाखानाबीच पाटेबाघको आहार व्यवस्थापन सम्बन्धमा आइतबार समझदारी पत्रमा हस्ताक्षर भयो । समझदारी पत्रमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र सदर चिडियाखानाका कार्यालय प्रमुख रचना शाहले हस्ताक्षर गरे । पाटेबाघको आहार व्यवस्थापनका लागि महानगर प्रमुख चिरीबाबुले १५ लाखको चेक हस्तान्तरण गरे । एउटा बाघको ६ किलो मासु एक दिनको मुख्य आहारा हो ।

मासुसहित अन्य भिटामिन पनि बाघका लागि आवश्यक पर्छ । महानगरमा पाँच वटा बाघ छन् । महानगरले चिडियाखानामा रहेको रोयल बङ्गाल टाइगर महाराजा नामको पाटे बाघको आहारा व्यवस्थापनका लागि उपलब्ध गराएको हो । महाराजा बाघको लागि उक्त रकम एक वर्षको आहाराको लागि उपलब्ध गराएको महानगर प्रमुख चिरीबाबु महर्जनले बताए । बाघको आहाराको लागि रकम उपलब्ध गराउन पाएकोमा खुशी लागेको बताउँदै उनले भने, ‘ देशको एक मात्रै चिडियाखाना हाम्रो महानगरमा हुन खुशीको कुरा हो, जनावरको संरक्षण गर्न यो काम गर्‍यौं । ’

नगरप्रमुख महर्जनले कोभिडको समयमा चिडियाखानाले भोग्नु परेको चरम आर्थिक अभावलाई सम्बोधन गरेको बताए । उनले भने,‘ त्यतिबेला महानगरले जनावर भोकै नपरुन भनेर १० लाख सहयोग गरेको थियो । सदर चिडियाखानाका कार्यालय प्रमुख रचना शाहले महानगर जनावरप्रति संवेदनशील भएर आहारका लागि खर्च दिएकोमा धन्यवाद दिइन् । उनले भनिन्, ‘ महानगरले कोभिडको बेलामा सहयोग गरेपछि अन्य संघसंस्थाबाट पनि थुप्रै सहयोग प्राप्त भएको छ ।’ समझदारीपत्र हस्ताक्षर कार्यक्रममा उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल, सूचना अधिकारी देव गुरागाई लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  ०८:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार