प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने काँग्रेसको औपचारिक निर्णय, आजैदेखि सत्तापक्षीय बेञ्चमा

आइतबार, चैत ५, २०७९

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकपछि पार्टी प्रवक्ता डा प्रकाशशरण महतले संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिई मुलुकको चौतर्फी विकास र समुन्नतिका लागि पार्टी सरकारमा जाने निर्णय भएको बताए ।
पार्टीकातर्फबाट सरकारमा सहभागी हुने मन्त्री चयन गर्दा कांग्रेसले योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशिता तथा प्रादेशिक सन्तुलनलाई आधार बनाउने निर्णय गरेको छ ।
गठबन्धन दलबीचको समझदारी र एकतालाई अझ बलियो बनाउँदै अघि बढ्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा रहेको वर्तमान सरकारलाई समर्थन गर्ने र भोलि चैत ६ गतेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले राख्नुहुने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न पार्टी संसदीय दललाई निर्देश गर्ने निर्णय भएको प्रवक्ता डा.महतले जानकारी दिए ।  
यसैगरी सरकारमा सहभागी हुने निर्णय भएसँगै आइतबार  देखि नै प्रतिनिधिसभाको बैठकमा कांग्रेस सत्तापक्षको लाइनमा रहने निर्णय गरेको छ । बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदमा निर्वाचित रामसहाय यादवलाई बधाईसहित कार्यकाल सफलताको कामना दिने निर्णय गरेको छ ।
यसैगरी काठमाडौँमा सम्पन्न आइसिसी क्रिकेट विश्वकप प्रतियोगिताका विजयी नेपाली खेलाडीलाई बधाई दिँदै आगामी खेलमा विजयका लागि शुभकामना दिने निर्णय पनि गरेको कांग्रेस प्रवक्ता डा महतले जानकारी दिए

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने कांग्रेस संसदीय दलको निर्णय
कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ ।
कांग्रेस संसदीय दलको आज बसेको बैठकले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । बैठकले विश्वासको मतका लागि आफ्ना सांसदहरुलाई ह्वीप जारी गरिने उनले बताए । प्रतिनिधिसभाको यही चैत ६ गते बस्ने बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने कार्यक्रम छ ।
बैठकले प्रधानमन्त्री दाहाल नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गर्नुका साथै प्रतिनिधिसभाको आज बस्ने बैठकदेखि नै सत्ता पक्षको लाइनमा बस्ने निर्णयसमेत गरेको छ ।
बैठकले राष्ट्रपतिमा रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएकोमा दुवै जनालाई बधाई दिँदै कार्यकाल सफलताको कामना गरेको छ ।

 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  २१:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार