पर्चा पम्पलेट एवम् माइकिङ बिनै स्ववियु निर्वाचनकाे प्रचारप्रसार

बिहीबार, चैत २, २०७९

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र पारेका छन् ।
ठूला आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनहरुले आ–आफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र पारेका हुन् । यसपटकको निर्वाचनमा स्ववियु आचारसंहितामा कडाइ गरेकाले उम्मेदवारले पर्चा, पम्पलेट एवं माइकिङ गर्न पाएका छैनन् ।
आचारसंहिताले निर्वाचनलाई व्यवस्थित बनाएपछि उम्मेदवारले सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिरहेका छन् ।
आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोष्टर टाँस्न रोक लगाइएको छ ।
उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावली ‘एफो’ साइजको कागजमा एकै रङ्ग भएको पर्चा मात्र प्रचारप्रसार गर्न पाउँछन् ।
उम्मेदवारले आफ्नो पक्षमा माहोल बनाउनका लागि भेटघाटलाई तीव्र पारेका छन् ।
प्रचारप्रसार गर्नका लागि रङ्गरोगन र कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने गरी आचारसंहिता बनेपछि निर्वाचनमा यसपटक तडकभडक देखिएको छैन ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आचारसंहितामा कडाइ गरेपछि निर्वाचनमा तडकभडक नभएको बताए । “उम्मेदवारले कुनै पर्चा, पम्पलेटजस्ता निर्वाचन सामग्री बनाउने बन्देज गरिएको छ”, उनले भने, “त्यसैले यसपटकको निर्वाचनमा तडकभडक छैन ।”
उम्मेदवारले आज चैत २ गते राती १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाउँछन् । उम्मेदवारको प्रचारप्रसारका लागि सम्बन्धित क्याम्पसले एउटा कार्यक्रम गरी परिचयात्मक कार्यक्रम गर्ने र उक्त कार्यक्रममा एक अर्काप्रति आक्षेप वा आरोप लगाउन नपाइने व्यवस्था गरिएको छ ।
त्रिवि केन्द्रीय क्याम्पस, अमृत साइन्स क्याम्पस, शङ्करदेव क्याम्पस, नेपाल ल क्याम्पस, नेपाल कर्मश क्याम्पसलगायत ठूला क्याम्पसमा चुनाव प्रसारप्रसार शान्त वातावरण भइरहेको छ ।

सुरक्षा व्यवस्थामा कडाइ
स्ववियु निर्वाचन हुने क्याम्पसमा प्रहरीलाई पनि तैनाथ अवस्थामा राखिएको छ । बिहानदेखि साँझसम्म शान्त वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि अहिलेदेखि नै प्रहरी परिचालन गरिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले देशभरिका क्याम्पसमा सुरक्षा व्यवस्था मजबुद बनाइएको जानकारी दिए । निर्वाचनसम्मका लागि प्रत्येक क्याम्पस बाहिर सुरक्षाकर्मी तैनाथका साथ खटेर सुरक्षा व्यवस्था गरिरहेको छ ।
अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव दिपेश पुनले आचारसंहितामा कडाइ गरेकाले चुनावी प्रचारप्रसार शान्त भएको प्रतिक्रिया दिए ।
त्रिवि केन्द्रीय क्याम्पसमा अनेरास्ववियुका तर्फबाट स्ववियु अध्यक्षका उम्मेदवार प्रशान्त विष्टले निर्वाचन आचारसंहिताका कारणले आफूहरुले पनि तडकभडक नगरेको बताए ।

यी क्याम्पसमा निर्वाचन अझै सुरु हुन सकेन
स्ववियु निर्वाचन केही क्याम्पसमा भर्ना विवादको कारणले रोकिएको छन् । उपत्यकाका त्रिचन्द्र क्याम्पस, आरआर क्याम्पस, पाटन संयुक्त क्याम्पस विश्वभाषा क्याम्पसमा भने निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन ।  
अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने छन् । स्ववियु निर्वाचनका लागि मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।

 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ०४:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार