सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ माओवादी केन्द्रले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिएको आरोप लगाएका छन् । मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले माओवादीको नाम नलिई मानव अधिकार आयोगलाई घेराबन्दी गर्ने, तर्साउने, धम्क्याउने काम गरिरहेको आरोप लगाए । त्यसक्रममा उनले मानव अधिकारको रक्षाका लागि लडन पार्टीनिकट मानव अधिकार एलाईन्सलाई निर्देशनसमेत दिए । ‘मानव अधिकार आयोगलाई घेराबन्दी गर्छन् । तर्साउँछन्, धम्क्याउँछन् । हाम्रा खुकुरीमा खिया लागेको छैन भन्छन् । हाम्रा बन्दुकमा खिया लागेको छैन भन्छन् । हाम्रो बन्दुकको कार्तुस अझै पनि ओसिएको छैन भन्छन् । हाम्रा पाखुरा लाठी चलाउन नसक्ने भएका छैनन् भन्न सक्छन् । खुट्टा याद राख्नुस् भन्न सक्छन् । यो हुँदैन भन्न सकिँदैन’, ओलीले भने, ‘त्यसकारण हाम्रो एलाइन्स आफैंमा मानवअधिकारप्रति समर्पित, इमान्दार हुनु पर्छ । मानवअधिकारको पक्षमा उभिन सक्ने, बोल्न सक्ने, त्यसको रक्षाका लागि लड्नसक्ने हुनु पर्दछ । एक्लै भयो भने फाँसी दिन सक्छन् ।’ अध्यक्ष ओलीले माओवादी पार्टीको नाम नलिए पनि उनको अभिव्यक्ति माओवादी घटकहरुको संयुक्त बैठकतर्फ लक्षित छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अदालतमा मुद्दा परेपछि विभिन्न समयमा विभाजित माओवादी पार्टीहरुले त्यसको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका थिए । माओवादीको एउटा घटक नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले शान्ति सम्झौताको मर्म र भावना प्रतिकूल हुनेगरी माओवादी नेताहरु माथि मुद्दा चलाइए सशस्त्र संघर्ष गर्ने चेतावनीसमेत दिएका थिए ।