मदिराको विज्ञापन अब सबैतिर प्रतिबन्ध 

सोमबार, फागुन २९, २०७९

काठमाडौं । विज्ञापन बोर्डले होर्डिङ्ग बोर्डमार्फत गरिएका मदिराजन्य पदार्थको विज्ञापन तत्काल हटाउन निर्देशन दिएको छ । फागुन ११ गते सर्वोच्च अदालतबाट कुनैपनि सञ्चारमाध्यमलाई मदिराको विज्ञापन नगर्न–नगराउन अन्तरिक आदेश भएपछि बोर्डले बाह्य विज्ञापन (होर्डिङ्ग बोर्ड) समेत तत्काल हटाउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो । बोर्डका प्रवक्ता निशानराज गौतमले विज्ञप्ति जारी गर्दै डिजिटल माध्यमका साथै सामाजिक सञ्जालबाट समेत मादक पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न भनेका छन् ।
‘बाह्य विज्ञापन (होर्डिङ्ग बोर्ड ) मा समेत त्यस प्रकारका विज्ञापन गर्न नपाइने भएकोले त्यस्ता विज्ञापन तत्काल हटाउन विज्ञापनदाता, विज्ञापन एजेन्सीका साथै स्थानीय तहलाई समेत अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
साथै, सर्वोच्च अदालतको आदेशबमोजिम विज्ञापन बोर्डले विज्ञापन प्रकाशन भए,नभएको अनुगमन गरिरहेको बताउँदै प्रवक्ता गौतमले कोही कसैबाट त्यस प्रकारको विज्ञापन प्रकाशन तथा प्रसारण भएको पाइएमा विज्ञापनदाता, विज्ञापन एजेन्सी तथा सञ्चारमाध्यमलाई विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा जनस्वास्थ्य सेवा ऐन, २०७५ का साथै प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी पनि दिएका छन् ।
गत माघ २६ गते प्रेस काउन्सिल नेपालले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन तथा प्रचारप्रसार नगर्न सबै सञ्चारमाध्यमलाई सचेत गराएको थियो । त्यसलगत्तै फागुन ११ गते सर्वोच्च अदालतले मदिराजन्य पदार्थको विज्ञापन तथा प्रचारप्रसारमा रोक लगाएको हो ।

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १७:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार